|
फोटो : प्रदीपराज वन्त/रासस

काठमाडौं : प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई मंगलबार सार्वजनिक गरेको छ। अध्यक्ष गौचनको हत्या भएको ३५ दिनपछि गोली हान्ने नुवाकोटका राजीव स्याङ्तान, हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतो, भारत विहारकमा मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ र सहयोगी काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित मनोज पुन, गंगा लिङदेन, लोपसाङ लामा, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी, अजय थापा र अमरबहादुर लामा अझै फरार रहेका छन्। बुढाथोकीले घटना सम्पन्न गराउन भूमिका खेलेको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

घटनालगत्तै गठन गरिएको प्रहरी नायव महानिरीक्षक गणेश केसी नेतृत्वको विशेष टोलीले गौचन हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको प्रहरी अतिरिक्त महाननिरीक्षक जयबहादुर चन्दले जानकारी दिए। हत्यामा संलग्न मोटरसाइकल र गोली समेत भारतबाट चोरी गरी ल्याएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

यसैबीच, पक्राउ परेकाहरुलाई संगठित अपराध अन्तरगत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ। पक्राउ परेका अभियुक्तहरुलाई हाल महानगरीय नगर प्रहरी कार्यालय प्रर्दशनीमार्गमा राखिएको छ। असोज २३ गते दिउँसै नयाँ बानेश्वरस्थित खरीबोटमा अध्यक्ष गौचनको गोली हानि हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.