|
फाइल फोटो

चितवन: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा चितवनबाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माcf]वादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासबारे प्रतिवद्धतापत्र जारी गरेका छन्।

३० बुँदे प्रतिवद्धतापत्रमा आफ्नो पार्टी समृद्ध नेपाल बनाउन प्रतिबद्ध रहेको र आगामी केही वर्ष नेपालमा आर्थिक क्रान्तिका वर्षहरू रहने उल्लेख छ। 'पुरानो सामन्तवादी युगको अन्त्य भए तापनि नेपाली जनताका घरआँगनमा समृद्धि, विकास, न्याय र समानता अझ आइपुगेको छैन', प्रतिवद्धतापत्रमा भनिएको छ, 'आगामी केही वर्ष नेपालमा औद्योगीकरण, कृषिमा आधुनिकीकरण, सडक, रेल, विद्युत, टेलिफोन र इन्टरनेट सञ्जालको व्यापक विस्तार, रोजगारी, आवास, स्वास्थ्य, शिक्षा, मनोरञ्जनमा आम मानिसहरूको पहुँच पुर्‍याएर समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको वर्षको रूपमा अघि बढाइनेछ।'

नेपाललाई समृद्ध र विकसित राष्ट्रका रूपमा निर्माण गर्न अग्रगामी शक्तिहरूको बहुमतको सरकार तत्कालीन आवश्यकता भएको उल्लेख गर्दै यही आवश्यकतालाई पूरा गर्न नेकपा एमालेसँग पार्टी एकताको उद्देश्यसहित चुनावी गठबन्धनको अगुवाइ प्रचण्डले गरेको बताइएको छ। यो परिप्रेक्ष्यमा चितवनको समृद्धि र विकास जति छिटो र गतिमा हुन्छ, त्यही गतिमा देशको विकास र समृद्धि गर्न सकिन्छ भन्ने दृढ विश्वाससहित चितवनलाई देशको विकासको नमुना बनाउन वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रचण्ड उम्मेदवार बनेका दाबी पनि गरिएको छ।

समृद्ध चितवनका लागि चितवनका सातैवटा पालिकाहरू एकीकरण गरी 'चितवन मेट्रो सिटी' बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाका र प्रतिबद्धतापत्र प्रस्तुत गरिएको उल्लेख छ।

'प्रचण्ड रोजगार योजना', 'प्रचण्ड आवास योजना', 'चितवन, औद्योगिक नगरी', 'समृद्ध माडी, सम्पन्न माडीवासीको सपना', 'समृद्ध र विकसित चितवनको सपना', 'पर्यटकीय चितवन नगरीका लागि विशेष योजना', 'चितवनलाई मेडिकल राजधानी बनाइने'लगायतका बुँदा प्रतिबद्धतापत्रमा रहेका छन्।

उद्योग, कृषि, सेवा, यातायातलगायतका क्षेत्रहरूबाट आगामी ५ वर्षभित्र ५० हजार नयाँ रोजगार सिर्जना गरिने, यस्ता रोजगारहरूमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने उल्लेख छ।

यस्तै प्रचण्ड आवास योजनाअन्तर्गत भूमिहीन सुकुम्बासीहरूलाई पहिलो प्राथमिकताका साथ उनीहरू हाल बसोवास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुतलाको आधुनिक आवासगृह निर्माण गरी वितरण गरिने, सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य लिइएको बताइएको छ।

चितवनलाई औद्योगिक नगरीको रूपमा विकसित गर्ने लक्ष्यका साथ कालिका नगरपालिकामा प्रचण्ड प्रधानमन्त्री हुँदा घोषणा गरिएको 'औद्योगिक क्षेत्र'को समग्र विकासमा एकीकृत योजना निर्माण गरिने, औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत, सञ्चार आदि सुविधा पुर्‍याइने उल्लेख छ। औद्योगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगीहरूलाई आकर्षित बनाई आगामी पाँच वर्षभित्र औद्योगिक शहर निर्माण गरिने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ।

आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग निर्माण गरिने, यो सडक निर्माणले यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा उपलब्ध हुन सहज हुने प्रतिवद्धतापत्रमा बताइएको छ। माडी रिङरोडको करिब ४० किमी सडक निर्माणको ठोस पहल अघि बढाइने, स्थानीय तहले अघि सारेका विकास निर्माण र जनजीविकाका क्षेत्रका योजना तथा कामहरूलाई गुणात्मक रूपमा पूरा गर्न विशेष पहल गरिने उल्लेख छ।

प्रतिवद्धतापत्रमा जनयुद्धका क्रममा पार्टीको भूलवश भएको बाँदरमुढे दुर्घटनामा दिवंगतहरूको स्मरणमा एक पार्क निर्माण गरिने पनि उल्लेख छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय देशकै एक मात्र प्राविधिक विश्वविद्यालय भएको र यसलाई आगामी दिनमा केन्द्रीय विश्वविद्यालयका रूपमा अघि बढाइने साथै रामपुरमा हाल थोरै मात्रामा रहेको विद्यार्थी संख्यालाई बढाएर अहिलेको भन्दा दशौँ गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने सामर्थ्य विकास गरिने उल्लेख छ।

कृषकलाई आधुनिक खेती प्रणालीसँग अवगत गराई कृषि उब्जनी वृद्धि गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य गरी 'कृषक पाठशाला' सञ्चालन गरिने र यस्ता पाठशालामा किसानहरूलाई उन्नत खेती प्रणालीबारे व्यावहारिक ज्ञान दिइने प्रतिवद्धतापत्रमा उल्लेख छ।

विद्यालय शिक्षाको स्तरीकरणका लागि उचित नियमनको व्यवस्था गर्न चितवनका सातवटै स्थानीय तहसँग समन्वय र सहकार्य गरिने साथै वडाहरूमा गरिब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गरिने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ।

प्रतिवद्धतापत्रमा चितवनमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने, मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी त्यसलाई सञ्चालनमा ल्याइने र भरतपुर–मेघौली सडक यातायातलाई २०/२५ मिनेटमा ओहोर–दोहोर गर्नसक्ने ढङ्गले स्तरोन्नति गरिने बताइएको छ।

चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने, मर्यादित र जिम्मेवार, र स्वतन्त्र प्रेस क्षेत्रको विकास र पत्रकारको सुरक्षा र क्षमता अभिवृद्धिका लागि केन्द्रीयस्तरमा नेपाल पत्रकार महासंघ र सञ्चारसँग सम्बन्धित निकायहरूले अघि सार्दै आएका माग तथा अवधारणा पूरा गर्न विशेष भूमिका निर्वाह गरिने प्रतिवद्धता पनि जनाइएको छ।

देशको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, ताल–तलैया, सामुदायिक वन, कृषि तथा जडिबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जङ्गल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रबर्द्धन गर्दै यातायातको व्यवस्था (प्रस्तावित रेल, सडक सञ्जाल तथा एयरपोर्ट)को उचित व्यवस्थापन गर्ने र चितवनलाई पहिलो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ।

यसरी नै चितवन जिल्ला केही वर्षयता मेडिकल राजधानीका रूपमा तीब्र विकास भइरहेको उल्लेख गर्दै देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा यसलाई विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने उल्लेख गरिएको छ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजको रूपमा निर्माण गर्ने योजना बनाइने पनि उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.