छापा

गौचनको हत्या पैसाकै लागि, भाडाका सुटर समातिए, नाइकेहरू फरार
SHARES

कात्तिक २९, २०७४

    काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पैसाकै लागि भएको प्रहरीले जनाएको छ। काठमाडौंमा गुण्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेत नेतृत्वको समूहले मागेअनुसार पैसा नदिएपछि गोली हानेर गौचनको हत्या गरेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए।

    हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। गोली हान्नेमध्ये एक राजीव स्याङ्तान पक्राउ परेका छन्। नुवाकोटको पञ्चकन्या घर भएका २१ वर्षीय स्याङ्तानलाई पैसा दिएर गोली हान्न लगाइएको प्रहरीले जनाएको छ। ‘गौचनलाई सो समूहले पैसा माग्दै पटक–पटक धम्क्याएको अनुसन्धानमा खुलेको छ,’ छानबिन समितिका डीआईजी गणेश केसीले भने, ‘पैसा नदिएपछि नै उनको हत्या गरेको हाम्रो अहिलेसम्मको निष्कर्ष छ, तर अनुसन्धान अझै पूरा भइसकेको छैन।’

    सो घटनामा सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन्। उनीहरूमध्ये महतो मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने व्यक्ति हुन्। पाण्डेले भारतबाट चितवनसम्म ल्याएर सो समूहका एक व्यक्तिलाई हतियार दिएका थिए।

    गुरुङ मोटरसाइकल व्यवस्थापन तथा बुढाथोकी गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सुटरले आफूलाई पैसा दिने आश्वासन दिएर गोली हान्न लगाइएको बताएका छन्। पक्राउ परेकामध्ये प्रकाश मात्र नाइकेहरूसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्ति हुन्।

    हत्याका योजनाकार सबै फरार 
    गौचन हत्याका योजनाकार सबै फरार छन्। छानबिन समितिका संयोजक केसीका अनुसार हत्याको प्रमुख योजनाकार समीरमानसिंह बस्नेत हुन्। उनले र लोप्साङ लामाले मिलेर हत्याको योजना बनाई गोप्य ढंगले सहयोगीहरू खटाएका थिए। गौचनको हत्या गरेपछि अरू ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने नै उनीहरूको प्रमुख उद्देश्य देखिएको छ।

    हत्यालगत्तै लोप्साङले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए। सोही समूहले त्यसपछि ठूला ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको थियो। मुख्य नाइके फरार नै रहेकाले उनीहरूले अब थप व्यवसायीलाई धम्क्याएर पैसा असुल्न सक्ने भन्दै प्रहरीले हुण्डी कारोबारीमाथि निगरानी सुरु गरिसकेको छ। हुण्डीमार्फत पैसा मगाउने गरेकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

    घटनामा संलग्न र फरार व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ। जसमा समीरसहित मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन्। उनीहरू सबै विगतमा गुण्डागर्दीमा आबद्ध व्यक्ति हुन्। सबैजना भारतमा लुकेको प्रहरी आशंका छ। उनीहरूलाई पक्राउ गर्न तीन सातासम्म एउटा प्रहरी टोली भारतमा बसे पनि असफल भएर फर्किएको थियो।

    दुईजना सुटर 
    डिआइजी केसीका अनुसार गौचनलाई दुईजना व्यक्तिले फरक–फरक पेस्तोलबाट गोली हानेका थिए। राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए। राना भने फरार छन्। भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन्। त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त र मुख्य सहयोगी हुन्। उनीहरूले नै गौचनको निगरानीलगायतको जिम्मा लिएका थिए। प्रहरीका अनुसार एक महिनादेखि उनीहरूले गौचनको निगरानी गरी उनी घरबाट निस्कने समय पत्ता लगाई गत २३ असोजमा हत्याको योजना बनाएका थिए।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]