|

चितवन : चितवनको भरतपुरस्थित पारशनगरमा पूर्वप्रधानमन्त्री एवं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’को घरदैलो कार्यक्रम हुने हल्ला बिहानैदेखि चलेको थियो। त्यसैले कहीँकतै नगएर स्थानीयहरु शुक्रबार उनलाई नजिकबाट हेर्न र भेट्न आतुर देखिन्थे। बिहानैदेखि फूलमाला र अवीर लिएर बसेका थिए।

लामो लाइन थियो, केही घण्टा कुरेपछि गाडीको लावालस्करसहित दाहाल हात हल्लाउँदै आए। गलाभरी माला र अनुहार अवीरले पोतिएको थियो। उनलाई भेट्न बसेको भिडमा यहाँका स्थानीय कृष्ण सापकोटा पनि सामेल थिए।

पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’को परिचय अहिले चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार भनेर पनि थपिएको छ। वाम गठबन्धनका उनी संयुक्त उम्मेदवार हुन्। राष्ट्रिय नेता भएकाले भेटेर केही भन्ने इच्छा जागेर सापकोटा लाइनमा खडा थिए।

‘ल गरेको प्रतिबद्धता पूरा गर्नु, सडक बाटो घाटोको दुर्दशा छ,’ सापकोटाले यत्ति भन्न भ्याएका थिए, दाहालले मुन्टो हल्लाउन नभ्याउँदै भिडले छोपिहाल्यो। सापकोटाले देशमा राजनीतिभन्दा पनि विकास चाहिएको र समृद्धि भएको देख्ने इच्छा रहेको बताए। चुनावी घरदैलोमा आइपुगेका दाहाललाई सोही ठाउँकी सरस्वती पौडेलले पनि बल्लतल्ल भेट्न भ्याइन्। एकातर्फ सुरक्षाकर्मीको भिड, अर्काेतर्फ सर्वसाधारणको ठेलम्ठेल।

तैपनि हिम्मत कसेर उनले दाहाललाई घर अगाडिको भत्किएको बाटो देखाइन्। छिट्टै बनाउन आग्रहसमेत गरिन्। ‘यी ल हेर्नुहोस् तपाई उठ्न लागेको ३ नम्बरको बाटो, सडक देखाउँदै पौडेलले भनिन्, अब विकास चाहियो।’

दाहालको घरदैलो चल्दै शरदपुर पुग्यो, भिड बढ्दो थियो। स्थानीयहरुले स्वागतमा घडासमेत थापेका थिए भने सडकमा लस्करै बसेका थिए। यही क्रममा देउमाया दाहालले पनि ठूलो भिडका बीचबाट प्रचण्डलाई भेटिन्।

‘लौ हाम्रै दाजुभाइ हौ, जितेर विकास गरेस,’ सकसका साथ फूल दिएर देउमायाले भनिन्। मुन्टो हल्लाउँदै दाहालले भने, ‘हुन्छ हुन्छ, विकासकै लागि त आएको।’

कतिपयले जितेपछि नेता नआउने गरेको भन्दै प्रचण्डलाई फर्केर आउनसमेत आग्रह गर्थे भने, कतिपय पूmलमाला दिएर हात मिलाउन पाएकोमा गर्व गर्थे। ‘देश कै नेता आउँदा खुसी नहुने कुरै हुँदैन, सामान्य जिज्ञासामा धेरैको उत्तर उस्तै हुन्थ्यो।

केही घण्टामा सो क्षेत्रको घरदैलो सकेपछि दाहाल चुनावीसभामा सरिक भए। विकास, समृद्धि र स्थायित्वमा जनताले चासो देखाएको भन्दै स्थिर सरकार र समृद्ध राष्ट्र नै आफ्नो मूल मुद्दा भएको उल्लेख गरे। वाम एकता पनि त्यसैको लागि हो भन्दै उनले साथ दिनसमेत अपिल गरे।

२३ कात्तिकदेखि २८ गतेसम्म दोस्रो चरणको चुनावी प्रचार अभियानमा उनले दैनिकजसो दर्जनौँसभालाई सम्बोधन गरे। हरेक क्षेत्रका चुनावी अभियानमा जनताले विकास, शान्ति, सुशासन, बाटो, सडक, खानेपानी लगायतका विषयमा समस्या राखेका थिए।

मंगलबार मात्रै दाहालले चितवन मेट्रोसिटी, प्रचण्ड रोजगार र आवास योजना, चितवन औद्योगिक नगरी, समृद्ध र सम्पन्न माडी, चितवन कृषि, शिक्षा र उत्पादनको केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, समृद्ध र विकसित चितवन, पर्यटकीय नगरिको लागि विशेष योजना, चितवनलाई मेडिकल राजधानी बनाइने, चितवनको विकास निर्माणको स्थायित्व लगायत विषय समेटेर चितवन विकासको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

चितवनको माडीबाहेक दाहाल भरतपुरका अधिकांश वडा घुमेर घरदैलोसमेत भ्याई बुधबारबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग विभिन्न जिल्लामा हुने संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न गएका छन्।

यता, दाहालकाका प्रमुख प्रतिस्पर्धी कांग्रेस समर्थनमा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे पनि चुनावी घरदैलोमा सक्रिय छन्। उनले बाटोबाटो, पुल पुलेसा, सडक निर्माण लगायतका हिसाबले आफू अनुभवी रहेको उल्लेख गर्दै पाँच वर्षमा चितवनकै मुहार फेर्ने प्रतिबद्धतासहित चुनावी अभियानमा सक्रियता देखाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.