|

गोरखाः नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले गोरखाबाट संयुक्त चुनावी अभियान सुरु गरेको छ। 

बुधबार गोरखाका विभिन्न चार ठाउँमा बृहत चुनावीसभालाई सम्बोधन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त चुनावी अभियानको सुरुवात गरेका हुन्। उनीहरू दुवै गोरखामा नारायणकाजी श्रेष्ठ र वाम गठबन्धनका उम्मेदवारहरूलाई भोट माग्नका लागि आएका हुन्।
के भने प्रचण्डले? 

माओवादी र एमालेले पालुंटारमा भएको बृहत चुनावीसभाका लागि जिल्लाभरिबाट कार्यकर्ता उतारेका थिए। ‘यो विशाल उपस्थितिले हाम्रा उम्मेदवारले जितिसकेको र घोषणा हुन मात्रै बाँकी रहेको महसुस भयो’, सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘गोरखा जिल्ला यसअघि पनि लालकिल्ला थियो। अहिले पनि लालकिल्ला हुन्छ भन्ने प्रमाणित गरेको छ।’ नेपाली कम्युनिष्ट आन्दोलन विभाजन हुँदै जाँदा पूँजीपति र दक्षिणपन्थीले अवसर लुटेको भन्दै कम्युनिष्टहरू एक हुन लागेको समेत उनको तर्क थियो। 

‘पहिलो पटक केपी शर्मा ओली र मेरो नेतृत्वमा देशका कम्युनिष्ट एक हुने संकल्पसहित अघि बढेका छौँ’, उनले भने, ‘त्यसैले वाम गठबन्धनको साझा उम्मेदवार लिएर हामी जनता माझ आएका छौँ।’ प्रचण्डले बाबुरामकै गृहनगर पुगेर उनलाई अहिलेको निर्वाचनमा उम्मेदवार भएर चुनाव लड्ने अधिकारसमेत नभएको आरोप लगाए। ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई लत्याएर, पूँजीपतिहरूसँग तालमेल गर्न कसले दियो उहाँलाई अधिकार?’, उनले भने। 

अब छिट्टै पार्टी एकता गर्नेसमेत उनले बताए। नारायणकाजीलाई भोट माग्दै प्रचण्डले भने, ‘नेपाली राजनीतिमा संभावना भएका व्यक्तिलाई भोट दिने कि एक्लै भएको र पूँजीपतिसँग तालमेल गर्नेलाई जिताउने तपाईंकै हातमा छ।’

केपी ओलीले के भने? 
नेकपा एमालेका अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते देशमा कम्युनिष्ट आँधी तुफानको रूपमा आउने बताए। ‘आगामी निर्वाचनमा देशमा वामपन्थी आँधी आउँछ’, ओलीले भने, ‘जसले जनताबाट उखेलिएको कांग्रेसको बूढो रूख जागै राख्नेछैन।’ 

ओलीले कांग्रेसलाई बूढो रूख र नयाँ शक्तिलाई सिसाको प्लास्टिकको आँखाले निकास नदिने बताए। ‘त्यस्तो बूढो रूख बोकेर सिसाको, प्लास्टिकको आँखो बोकेर कोही देश अगाडि बढाउने भन्दै आउँछ भने तपाईंहरूले धपाउनुपर्नेछ’, उनले भने, ‘जनताको शक्ति एक भएपछि बाबुराम भट्टराईलाई कसरी जीत हुन सक्छ। हामीले अब वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी र अन्य उम्मेदवारलाई जिताउनुपर्नेछ।’ 

आफूहरू पार्टी एकता गर्ने हिसाबले अघि बढिसकेको उनले बताए। ‘निर्वाचनको मुखैमा एकताको प्रक्रिया पूरा गर्न नसकेकाले भएन’, उनले भने, ‘निर्वाचनलगत्तै कम्युनिष्टहरूले बहुमत पनि ल्याउँछन्, एकता पनि हुन्छ। चुनावपछि हामी एकै हौँ।’ ओलीले बाबुरामप्रति लक्षित गर्दै भने, ‘कर्कलोलाई बञ्चरोले काटिराख्नुपर्दैन।’  
ओली कांग्रेसमाथि पनि उत्तिकै खनिए। ‘यो ठाउँका कांग्रेसप्रति माया लाग्छ। चुनाव चिह्न रूखका हाँगा केही बाँकी रहेनन्, आँखा हातमा लिएर हिँड्न भएन।’

बुरामलाई बबुरा भन्दै उनले कांग्र्रेसले बबुरासँग तालमेल गरेर प्रजातन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाए। ‘कम्युनिष्ट सरकार आउने भयो भनेर कांग्रेस आत्तियो’, उनले भने, ‘देशमा कम्युनिष्ट शासन आयो आयो, निर्वाचनपछि कांग्रेस बडारियो बडारियो, बूढो रूख ढल्यो ढल्यो।’ 

उनले नेपालको इतिहासमा नेपाली कांग्रेसका अन्तिम प्रधामन्त्री शेरबहादुर देउवा भएको बताए। ‘नेपाली कांग्रेसको तर्फबाट नेपालको इतिहासमा अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा नै हो’, उनले भने, ‘म मिति नै तोकेर भन्न चाहन्छु। २०७४ पुस महिनासम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ। नेपाली कांग्रेसको यस देशमा अन्तिम प्रधानमन्त्री देउवा हुनेछन्। त्यसैले अब वाम गठबन्धनलाई जिताउनुस्, देशलाई निकास दिनुस्।’ प्रचण्ड र ओली फरक फरक हेलिकोप्टरबाट गोरखा आएका थिए। 

गोरखा क्षेत्र नं.– २ मा नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधिसभामा डा. बाबुराम भट्टराईसँग माओवादी नेता नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धाले चुनावी सरगर्मी तातेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.