|

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ। प्रधानमन्त्री पत्नी डा. अारजु राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि को विजयी होला भनी उत्सुकता बढेको छ।

कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी अारजुले ३ करोड लगानी गरेर घरै किनिन्, तापनि उनी अालोचनामुक्त हुन सकिनन्। यही क्षेत्रमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारीले उम्मेदवारी दिएका छन्।

यही क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेका थिए। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पत्नी अारजुको बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस सुरु भएको छ। रानाले राना थारू समुदायको मत तान्ने अपेक्षा गरिएको छ।

राना थारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा राना थारू समुदायका ३० हजार मतदाता रहेका छन्। रानाले २०५४ सालमा धनगढी नगरपालिकाको उपप्रमुखमा चुनाव जितेका थिए। उनी २०६४ सालमा समानुपातिक कोटाबाट सांसद बनेका थिए। देउवा पत्नी अारजु पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन्। उनी यसअघि कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन्।

विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका भण्डारी यस क्षेत्रमा व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको पनि राम्रो छवि छ। भण्डारीले कांग्रेस र एमालेको मत तान्ने अनुमान गरिएको छ। स्थानीय निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत  छ। हमाल हाल विवेकशील पार्टीका ७ नम्बर प्रदेशका संयोजक रहेका छन्।

यस क्षेत्रबाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप ओडले चुनाव जितेका थिए। २०६४ सालको संविधानसभामा भने माओवादीकी लीला भण्डारीले निर्वाचन जितेकी थिइन्।

शेरबहादुर देउवा चुनाव लडेयता कांग्रेसका उम्मेदवारले जित हात पारेकाले यस क्षेत्रलाई कांग्रेसको पकड क्षेत्र मानिन्छ। स्थानीय तह निर्वाचको मतलाई हेर्दा एमाले–माओवादीले पाएको मत जोड्दा भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले पाएको मतभन्दा केही बढी छ।

नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ। तत्कालीन क्षेत्र नम्बर ६ निर्वाचन क्षेत्रमा हाल धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाइएको छ। यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.