|

काठमाडौं : आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ। घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल परम्परागत शैलीमै सबै निर्वाचन क्षेत्रसम्म पुर्‍याए पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भिडियो सेयरिङ साइट, युट्युबसहितको प्रयोग भने आक्रामक बनाएको छ। सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिबद्धता, नीति, सिद्धान्त र कार्यक्रमलाई उम्मेदवारले मतदातासम्म पुर्‍याइरहेका छन्। कांग्रेसले ‘नेपाली कांग्रेसको सरकार, लोकतन्त्र, राष्ट्रियता, एकता र समृद्धिका आधार’, ‘सबैको जित, सबैको हित, नेपाली कांग्रेसको दृष्टि उच्च र दिगो आर्थिक वृद्धि’सहितका चुनावी नारा अघि सारेको छ।

कस्ता छन् प्रचार सामग्री ?

कांग्रेसले ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा तीन हजारका दरले रूख र चारतारे झन्डा, हरेक प्रदेशमा पाँच हजारका दरले घोषणापत्र र एउटा प्रदेशमा १५ हजारका दरले पार्टी सभापतिको अपिल पठाएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए।

उम्मेदवारका आफ्नै घोषणापत्र

कांग्रेसले केन्द्रमा समग्र घोषणापत्र ल्याए पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो क्षेत्रका लागि छुट्टै घोषणापत्र पनि ल्याउन पाउनेछन्। उम्मेदवारहरू स्थानीय आवश्यकतालाई समेट्दै घोषणापत्र तयार गरेर मतदातासमक्ष पुगिरहेका छन्। जिल्लामा उठेका उम्मेदवारले आफैँ घोषणापत्र ल्याउन पाउनुका साथै झन्डा छाप्न सक्नेछन्।

प्रतिउम्मेदवार एक लाख खर्च

कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका प्रतिउम्मेदवार एक लाख रुपैयाँका दरले निर्वाचन खर्च दिएको छ। केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार बाटो खर्च भनेर उम्मेदवारलाई एक÷एक लाख खर्च दिइएको हो।

सात प्रदेशका नौ स्थानमा मिडिया सेन्टर

निर्वाचनका लागि कांग्रेसले विराटनगर, धनगढी, पोखरा, डडेल्धुरा, बुटवल, सुनसरी, जनकपुर, सुर्खेतमा मिडिया सेन्टर खोलेको छ। २७ कात्तिकदेखि यी सेन्टरले काम थाल्नेछन्। मिडिया सेन्टर प्रत्येकमा ६ जनाका दरले पत्रकार कार्यरत छन्। कांग्रेसनिकटको पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले प्रदेशमा रहेका हरेक कांग्रेस उम्मेदवारका भाषण, पार्टीका गतिविधिलाई केन्द्रको मिडिया सेन्टरमा पठाउँछन्। केन्द्रको सेन्टरले ती सामग्रीलाई मिडियासमक्ष पुर्‍याउने गर्छ।

केन्द्रको मिडिया सेन्टरको संयोजक सुरेश आचार्य छन्। उनीसँगै कृष्ण केसी, परशु घिमिरे, बद्री सिग्देल, तारानाथ दाहाल, धर्मेन्द्र झा, कविर राणा, समीरजंग शाह, कुलचन्द्र वाग्ले छन्। साथै, प्रकाश अधिकारीले पनि मिडियासँग संयोजन गरिरहेका छन्। यस्तै, प्रचार अभियानअन्तर्गत सामाजिक सञ्जाल, छापा, विद्युतीय माध्यम, अनलाइनसहितका मिडिया हेर्ने गरी कार्यदल बनाइएको छ।

क्षेत्रसम्मै प्रचार समिति

कांग्रेसले ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेपछि यसअन्तर्गत गगन थापाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ। समितिले प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै प्रचार समिति गठन गरेको समितिका सहसंयोजक बद्री पाण्डेले जानकारी दिए। चुनावी गीत तयार गर्ने जिम्मा सांस्कृतिक संघका तीर्थ थापालाई दिइएको छ। निर्वाचनका लागि शीर्ष नेताहरूको संक्षिप्त अपिल रहेको भिडियो क्लिप पनि कांग्रेसले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको छ।

प्रचारमा निस्किए देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गरेका छन्। शनिबार नै उनी पाँचथर र सोलुखुम्बुका चुनावी कार्यक्रममा पनि सहभागी भए। बुधबार उनी कैलाली पुगेका छन्। अबका ५–६ दिन देउवा सुदूरपश्चिमका कञ्चनपुर डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुलासहितका जिल्लाका कार्यक्रममा सहभागी बन्नेछन्। कांग्रेसको निर्वाचन परिचालन समितिले केन्द्रीय नेताहरूकै उपस्थितिमा प्रदेशस्तरीय सभाको तयारी गर्दै छ।

एमाले : चुनावी गीत, सामाजिक सञ्जाल र भिडियो अपिल

शुरोजंग पाण्डे/एमालेले प्रविधिको भरपूर उपयोग गर्दै चुनावी प्रचारलाई तीव्रता दिएको छ। संयुक्त वाम गठबन्धनका साथै पार्टी र उम्मेदवारका तर्फबाट छुट्टाछुट्टै तरिकाले एमालेले प्रचार अघि बढाइरहेको छ।

प्रचारप्रसार उम्मेदवारकेन्द्रित

एमालेले संस्थागतभन्दा पनि उम्मेदवारकेन्द्रित प्रचारलाई बढी जोड दिएको छ। केन्द्रीयस्तरमा संयुक्त वाम गठबन्धनका तर्फबाट छापिएको घोषणापत्र र अपिलबाहेक सबै प्रचार प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारकेन्द्रित बनाइएको केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए। ‘वाम गठबन्धनका उम्मेदवारले संयुक्त रूपमा अपिल छाप्नुभएको छ, घरदैलो र सामूहिक भेटघाटमा जोड दिइरहनुभएको छ,’ उनले भने, ‘जिल्ला–जिल्लामा संयुक्त गठबन्धनको घोषणापत्र पठाइएको छ, जिल्लास्तरमा पनि आ–आफ्नै तरिकाले निकालेको घोषणापत्र प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेको छ।’

प्रचारमा पंगेनीका गीत

चर्चित लोकगायक बद्री पंगेनीका गीतलाई एमालेले मुख्य चुनावी प्रचार गीतका रूपमा प्रयोग गरिरहेको छ। ०७० र स्थानीय तहको निर्वाचनमा पंगेनीको गीत सर्वाधिक लोकप्रिय बनेपछि एमालेले यसपटकको निर्वाचनमा पनि उनका गीतलाई चुनावी प्रचारको मुख्य माध्यम बनाएको हो। यसबाहेक स्थानीय तहमा प्रयोग भएका अन्य कलाकारका दर्जनौँ गीतलाई पनि एमालेले चुनावी गीत बनाएको छ।

फेसबुक पेज र भिडियो–अडियो अपिल

एमालेका अधिकांश उम्मेदवारले व्यक्तिगत फेसबुक पेजलाई चुनावी गतिविधि प्रचार गर्ने माध्यम बनाएका छन्। अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका कतिपय नेताले भिडियो–अडियो अपिलमार्फत पनि मत मागिरहेका छन्।

केन्द्रदेखि जिल्लासम्म प्रचार संयन्त्र सक्रिय

एमालेले माओवादी केन्द्रसँग मिलेर प्रदेश र जिल्ला तहमा प्रचार संयन्त्रलाई सक्रिय बनाएको छ। दुवै तहमा भ्रातृ संगठन परिचालन गरेर मिडिया डेस्क बनाएको छ। केन्द्रीय तहमा पनि मिडिया सेन्टर स्थापना गर्ने अन्तिम तयारी भइरहेको थापाले बताए।

प्रचार संयोजनका लागि संयुक्त केन्द्रीय कार्यालय

चुनावी परिचालन र संयुक्त प्रचार संयोजनका लागि एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिको कार्यालय सानेपामा स्थापना गरेका छन्। सो कार्यालयमार्फत संयुक्त प्रचारको संयोजन भइरहेको थापाले बताए।

ठूला सहरमा सांकेतिक सभा 

घरदैलो, मतदाता भेटघाट भेला र कोणसभाबाहेक एमाले र माओवादी केन्द्रले २९ कात्तिकदेखि ९ मंसिरसम्म देशका १४ वटा ठूला सहरमा संयुक्त सभा गर्ने तयारी गरिरहेका छन्। त्यस्ता सभा सांकेतिक हुने एमालेको भनाइ छ।

प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रचार

एमालेले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवारबारे निर्णय नगरे पनि कतिपयले स्वतस्फुर्त रूपमा आफूलाई सम्भावित उम्मेदवारका रूपमा उभ्याएका छन्। माओवादी केन्द्रसँग एकताको घोषणा भएकाले पनि एमालेले कसैलाई पनि प्रधानमन्त्रीको उम्मेदवार तोकेको छैन।

‘प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्नुपर्छ, गर्नुपर्दैन भन्ने दुवै मत पार्टीभित्र छ,’ प्रचार विभाग उपप्रमुख थापाले भने, ‘कसलाई उम्मेदवार बनाउनेभन्दा पनि तत्कालीन परिवेशलाई हेरेर निर्णय गर्ने गरी शान्ति र राजनीतिक स्थिरताका लागि सहमतिका साथ अघि बढ्ने माओवादी केन्द्रसँग सहमति भएको छ।’

माओवादी उम्मेदवारका छुट्टाछुट्टै घोषणापत्र

वीरेन्द्र ओली/प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएपछि माओवादी केन्द्रले चुनावी प्रचार आक्रामक बनाउँदै लगेको छ। चुनावी माहोल आफ्नो पक्षमा पार्न माओवादीले फरक शैली अपनाएको छ। उसले पार्टीको आमसभामा एमाले नेतालाई प्रमुख अतिथि बनाउने गरेको छ। एमालेको मत पाएमा मात्र प्रदेश र प्रतिनिधिसभामा आफ्ना उम्मेदवार विजयी हुने भएकाले माओवादीले यस्तो रणनीति बनाएको

उम्मेदवारका प्रचार विभाग

माओवादीले आफ्ना उम्मेदवारको प्रचारका लागि छुटै प्रचार विभाग स्थापना गरेको छ। पार्टीभित्र मिडिया बुझेका एमाले–माओवादीका नेता–कार्यकर्तालाई प्रचार विभागमा राखिनेछन्। माओवादीले सकेसम्म सबै उम्मेदवारलाई आफ्ना मतदातासमक्ष पुग्नैपर्ने नीति बनाएको छ। चुनावी महोल आफ्नो पक्षमा ल्याउन माओवादीले घरदैलो, कोणसभा, भेला, प्रशिक्षणलगायतका गतिविधि गर्दै आएको भुसालले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.