|
फाइल फोटो

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर– ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा दिगो शान्ति, समृद्धि र आर्थिक विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। चितवनको भरतपुरस्थित गीतानगरमा शुक्रबार भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशले विकास खोजेको बताउँदै चितवनका जनताको साथ लिएर राष्ट्रकै समृद्धिका लागि लागिपर्ने बताए।

संविधानसभाको निर्वाचनमा काठमाडौं र रोल्पा जोड्नुपर्ने भएकाले उम्मेदवारी दिएको, दोस्रो निर्वाचनमा काठमाडौं र मधेस जोड्नुपर्ने भएकाले सिराहाबाट उम्मेदवारी दिएको उल्लेख गर्दै उनले अब समृद्धिका लागि आफ्नै जिल्लाबाट उम्मेदवारी दिएको बताए। प्रचण्डले सिंगो राष्ट्रलाई नै समृद्धिको मार्गमा लैजानका लागि वाम गठबन्धन अघि बढेको जिकिरसमेत गरे।

स्थीर सरकार र समृद्ध राष्ट्र निर्माणको परिकल्पनाका साथ चितवन आएको उनको भनाइ छ। ‘चितवनको विकास गर्ने संकल्प लिएर आएको छु, त्यसमा तपाईंहरुको साथ चाहिन्छ’, उनले भने, ‘तपाईंहरुको साथ लिएर राष्ट्रको विकास गरिने छ।’

साथै प्रचण्डले कांग्रेसले ‘गणतन्त्रविरोधी’ पार्टीका उम्मेदवारलाई साथ दिनु उपयुक्त नभएको बताए। वास्तवमै लोकतन्त्रवादी भएको भए कांग्रेसले आफ्नै उम्मेदवारी दिनेथियो भन्दै उनले हलोलाई उठाएर ‘गणतन्त्रविरोधी’लाई साथ दिनु उपयुक्त नभएको दाबी गरे।

प्रचण्डले चितवनमा तेस्रो चरणको घरदैलो कार्यक्रमअन्तर्गत शुक्रबार गीतानगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन्। प्रचण्ड यसअघि कात्तिक १६ देखि २० तथा २३ देखि २९ गतेसम्म चितवनमा चुनावी प्रचार अभियानमा सरिक भएका थिए। सो क्रममा यहाँका विभिन्न क्षेत्रमा घरदैलोसमेत भएको थियो।

कार्यक्रममा नेकपा एमालेका नेता काशिनाथ अधिकारीले प्रचण्डलाई चमत्कारिक राजनेताको संज्ञा दिए। कसैले कल्पना नगरेको गणतन्त्र ल्याउने नेता प्रचण्ड भएको भन्दै उनले अरुको इतिहास पढ्नभन्दा विभिन्न चरणमा इतिहास रच्दै आएको भन्दै प्रसंशा गरे। ‘हामीले इतिहास निर्माता पाएका छौँ, अब फेरि उहाँले समृद्धिको इतिहास रच्ने संकल्प गर्नुभएको छ,’ अधिकारीले भने। कम्युनिष्टहरु कांग्रेसभन्दा धेरै लोकतान्त्रिक भएको दाबी गर्दै अधिकारीले प्रचण्ड र केपी ओली नेपाली लोकतन्त्रको खम्बा भएकोसमेत जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.