|

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कम्युनिस्ट एकताका कारण सबै नेपाली उत्साहित भएको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट कार्यकर्ता मात्र नभई कांग्रेसका इमान्दार कार्यकर्तासमेत कम्युनिस्ट एकताका कारण उत्साहित भएको बताएका हुन्।

‘हामी एक भएका कारण देशभक्त नेपालीहरू उत्साहित भएका छन्। कम्युनिस्ट कार्यकर्ता मात्र होइन, नेपालको समृद्धि हेर्न चाहने कांग्रेसका इमान्दार कार्यकर्ता पनि वाम एकताले उत्साहित भएका छन्’, उनले भने। चुनावपछि कम्युनिस्ट सरकार बन्ने भन्दै उनले देशको समृद्धि हुनेमा ढुक्क हुन उनले आग्रह गरे। ‘अस्थिर सरकारका कारण नेपाल विकासमा धेरै पछाडि पर्‍याे’, उनले भने, ‘देशको विकास गर्न पनि हामी एक भएका हौँ। चुनावलगत्तै अब हाम्रो सरकार बन्छ, त्यसपछि विकासले गति लिनेमा तपाईंहरू ढुक्क हुनुहोस्।’

उनले कांग्रेसलाई अब कम्युनिस्ट पार्टीबाट पाठ सिक्नसमेत आग्रह गरे। ‘कांग्रेसलाई हाम्रो गठबन्धनप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्छु। हाम्रो गठबन्धन तपाईंहरूको विरोधका लागि होइन। हाम्रो गठबन्धन त देशको विकासका लागि हो', उनले भने, 'तपाईंहरूले त मलाई अनि केपीजीलाई धन्यवाद पो दिनुपर्छ त। हाम्रो कारण विजयकुमारजी फेरि एक हुनुभएको छ। अब महन्थजी, राजेन्द्रजीहरू पनि विस्तारै एक हुनु हुनेछ। हामीबाट सवक सिक्दै अब अघि बढ्नुहोस्।’ 

वीपीको समाजवाद र गिरिजाप्रसाद कोइरालाको सिद्धान्तमा विर्सिए कांग्रेस अब पतनको बाटोतर्फ जाने उनको भनाइ थियो। उनले कांग्रेसले लामो समय सत्ता सञ्चालन गर्दा पनि देशको विकास गर्न नसकेकाले अब कम्युनिस्टले देश चलाएको हेर्न आग्रह गरे। ‘अब पाँच वर्ष हामीले सत्ता चलाएको हेर्नुहोस्। यदि राम्रो काम गर्न सक्यौँ भने हामीलाई तपाईंहरूले जस्तै ३०/४० वर्ष सत्ता चलाउन दिएर देशलाई समृद्धितर्फ लानदिनुहोस् र हामीबाट केही सिक्नुहोस्’, अध्यक्ष प्रचण्डले भने, ‘यति पाँच वर्षसम्म हामीले राम्रो काम गर्न सकेनौँ भने फेरि जनतामाझ जानुहोस्।’

देशमा गणतन्त्र स्थापनादेखि हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको माओवादीले स्थिर सरकार स्थापनाका लागि आफूहरू एक भएको बताए। उनले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकाले कार्यान्वयनमा नेतृत्व पनि माओवादीले नै गर्ने बताए। ‘संविधान निर्माणमा हाम्रो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको थियो। अनेक अफ्ठ्याराका बाबजुद पनि मेरो नेतृत्वको सरकारले कार्यान्वयनको एउटा बाटो तयार गर्‍यो', उनले भने, 'तर पनि संविधान कार्यान्वयनको कुनै ग्यारेन्टी नभएपछि हामीले कम्युनिस्ट एक भएर लाग्नुपर्छ भन्ने सोचेर वाम गठबन्धन गरेका हौँ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टीका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ र पार्टी अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.