|

धनकुटा : प्रहरीले जिल्लामा शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपाका महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रीवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई सादा पोसाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका-३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।

पक्राउ पर्नेको संख्या ८ पुग्यो

धनकुटामा अहिलेसम्म विप्लवका ८ जना कार्यकर्ता पक्राउ परेका छन्। गत बुधबारदेखि हालसम्म चार दिनको अवधिमा प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित ८ जनालाई पक्राउ गरेको हो। जिल्ला इन्चार्ज गौतम र जिल्ला सदस्य रणकुमार राईलाई गत बिहीबार बिहान खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको साप्तिङटारबाट प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, बुधबार जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझालाई हिले, रञ्जित राईलाई थलथले र प्रेम कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको थियो। यता, जिल्ला सदस्य सुमन राईलाई शुक्रबार साँझ धनकुटा–२ भीरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

 निर्वाचनविरोधी कुरा गर्ने तथा मतदाता भड्काउने काम गरेको पाएपछि उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी राजभण्डारीले बताए। चुनावलाई शान्तिपूर्ण बनाउन माथिको आदेशमा उनीहरुलाई पक्राउ गरिएको एसपी राजभण्डारीले जानकारी दिए।

यसअघि, गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरु निर्वाचनपश्चात छोडिएको थियो। निर्वाचन विरोधी गतिविधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.