|

काठमाडौं: आइतबार नेकपा माओवादी केन्द्रको हेडक्वाटरको प्रांगण मानिसले भरिभराउ थियो। हरेकका आँखा रसाएका थिए। सबै स्तब्ध र मौन थिए। छेउमै थियो पिताम्बर ओडाइएको एक पार्थिव शरीर। त्यही पार्थिव शरीरमा मानिसहरू फूल र अबीर पहिरिइरहेका थिए। त्यो पार्थिव शरीर थियो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको।

त्यही मृत शरीरलाई अन्तिम श्रदाञ्जलि दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अमिक शेरचन, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, नेकपा मालेका महासचिव सीपी मैनालीलगायत पुगेका थिए। 

त्यही भीडमा थिए माओवादीका युवानेता हिमाल शर्मा। ‘प्रकाशको मृत्युले हाम्रो पार्टीमा ठूलो क्षति पुगेको छ। उनी अध्यक्षका छोरा मात्र थिएनन्, एक कुशल व्यवस्थापक पनि थिए’, प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिन आएका माओवादी कार्यकर्तासँग भन्दै थिए उनी। 

थाहाखबरसँग उनले भने, ‘अध्यक्षज्यूको सचिवालयमा रहेर सबै बैठक तथा भेटघाट समयको व्यवस्थापन, अतिथि सत्कारदेखि लिएर सबै कुरालाई साह्रै राम्ररी मिलाउने गर्थे उनले।’ पछिल्लो अवस्थामा दाहाल धेरै निष्ठावान् भएर अगाडि बढिरहेको उनी बताउँछन्। ‘उनीसँग ठूलो जिम्मेवारी थियो। बाहिरबाट मान्छेहरूले हेर्दा जति कठोर देखिन्थे, उनी त्यस्तो थिएनन्। नजिकबाट चिन्दा धेरै सरल र शालीन थिए’, हिमाल भन्छन्।

यो घटनाले पार्टीभित्र ठूलो क्षति पुगेको उनी बताउँछन्। भन्छन्, ‘उनको जिम्मेवारी अब पार्टी हेडक्वार्टरमा रहेर कसैले सहजै पूरा गर्न सक्दैन।’

हरेक मान्छेमा केही त्रुटिहरू हुने भन्दै प्रकाशमा धेरै सबल पक्ष रहेको शर्मा बताउँछन्। ‘मान्छेका केही त्रुटि पनि हुन्छन्। उनका पनि थिए। उनको विवाहको विषयलाई लिएर धेरै टीकाटिप्पणी पनि आए', उनी भन्छन्, 'उनले गल्ती पनि स्वीकार गरे। पार्टीले कारवाही पनि गर्‍यो। तर यसले गर्दा उनले गरेका सबै राम्रा कमलाई छेक्न हुन्न नि!’

माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल 'आहुति' प्रकाशलाई बाल्यकालदेखि नै चिनेको बताउँछन्। प्रकाश बाल्यकालदेखि नै कर्तव्यनिष्ठ भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘म उहाँलाई २०४९ सालदेखि नै चिन्छु। उहाँ सानैदेखि आफ्नो कामप्रति जिम्मेवार र निष्ठावान् हुनुहुन्यो। सानैदेखि परिवर्तन चाहने स्वभावको हुनुहुन्थ्यो।’ पछिल्लो समय प्रकाशको व्यवस्थापनप्रति सिंगो पार्टी नै सन्तुष्ट भएको उनको भनाइ छ। भन्छन्, ‘अध्यक्षज्यूको समय व्यवस्थापनमा उहाँले निक्कै राम्रो काम गर्नुभएको थियो। म र हाम्रो सिंगो पार्टी नै उहाँसँग सन्तुष्ट थियो।’ 

सार्वजनिक जीवनमा रहेका मानिसहरूलाई विरोधी र कुराको गहिराइ नबुझेकाहरूले मानसिक चोट दिने गरेको र त्यसको शिकार प्रकाश पनि भएको आहुति को बुझाइ छ। उनी भन्छन्, ‘उहाँको व्यक्तिगत जीवनमा धेरैले नकारात्मक टिप्पणी गरे। उहाँको राम्रो पक्षका बारेमा कुरा गरेनन्। उहाँको विवाहको एउटा केसबाहेक सबै राम्रै थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • कलियुगमा भगवान हुदैन भन्थे गलत रैछ ।जनताकाे छाेरा नाति मर्नेले अाफ्नै छाेराकाे मलामि जानू पर्दा कथाकठित जनअान्दाेलनका नाममा मारेका मानिसहरुकाे अामा बाबुकाे पीडा बल्ल अनुभव भयाे हाेला ।