|

काठमाडौं :  चालु आर्थिक वर्षको सुरुको तीन महिनामा मूल्यवृद्धि ३.१ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को साउन, भदौ र असोज महिनाको आर्थिक तथा वित्तीय स्थितिमा मूल्यवृद्धि गत वर्षको भन्दा ३.६ प्रतिशत विन्दुले घटेर ३.१ प्रतिशतमा सीमित रहेको उल्लेख गरिएको छ।

यस वर्ष खाद्य पदार्थमा ०.५ प्रतिशत र गैरखाद्य पदार्थमा ५.२ प्रतिशत मूल्यवृद्धि भएको छ। खाद्य अन्तर्गतका दलहन तथा गेडागुडीको मूल्यमा २२.९ प्रतिशत, मसलाको मूल्यमा ५.७ प्रतिशत, तरकारीको मूल्यमा ५.१ प्रतिशत र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले गत वर्षको आधार मूल्य उच्च रहेकाले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर कम देखिएको जनाएको छ।

गैरखाद्यतर्फ लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर पनि गत वर्ष भन्दा केही घटेको छ। चालु आर्थिक वर्षमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ५.१, तराइमा ३.६, पहाडमा ३ र काठमाडौं उपत्यकामा २.३ प्रतिशत रहेको छ।

असोजमा आएर सोधनान्तर स्थिति बचतमा

चालु आर्थिक वर्षको साउन र भदौमा लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको राष्ट्र बैंकले जनाएको छ। नेपाल भित्रने र बाहिरिने रकमबीचको अन्तर (सोधनान्तर स्थिति) असोज महिनामा ४ अर्ब २७ करोडले बचतमा फर्केको हो। पुँजी पलायन कम भएको, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको प्रतिवेदनमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षको असोजसम्म समग्र शोधनान्तर स्थिति १९ अर्ब ७० करोड रुपैयाँ वचतमा रहेकोमा चालु आर्थिक वर्षको असोजमा सोधनान्तर घाटा २१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

सरकारी बजेट जम्मा १० प्रतिशत खर्च

चालु आर्थिक वर्षको तीन महिनामा सरकारी बजेट खर्च जम्मा १० प्रतिशतमात्र भएको छ। त्यसमा पुँजीगत खर्च भने जम्मा ३ प्रतिशत मात्र भएको छ। १२ खर्ब ७८ अर्बको बजेटमध्ये चालु आर्थिक वर्षमा १ खर्ब ३८ अर्ब रुपैयाँमात्र खर्च भएको छ। जसमध्ये १ खर्ब २६ अर्ब चालु खर्च र पुँजीगत खर्च जम्मा ११ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। 

व्यापार घाटा २ खर्ब ३७ अर्ब

चालु आर्थिक वर्षको असोजसम्म व्यापार घाटा २ खर्ब ३७ अर्ब पुगेको छ। गत वर्षभन्दा व्यापार घाटा १७.७ प्रतिशतले बढेर २३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको असोजसम्म नेपालबाट जम्मा २० अर्ब ४३ करोड रुपैयाँको वस्तु निर्यात भयो भने आयात २५७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थ, सुन, हवाइजहाजका उपकरण, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ। कृषिजन्य उपकरण, रासायनिक मल, सेनिटेरी वेयर, विद्युतीय सामान, खाने तेल लगायतका वस्तुहरुको आयात भने घटेको छ।

रेमिट्यान्सको वृद्धिदर घट्यो

विदेश जाने नेपालीले पठाउने रकम रेमिट्यान्स (विप्रेषण) चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ। गत वर्ष असोजमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३.२ प्रतिशत रहेकोमा अहिले जसम्मा २.६ प्रतिशतले मात्र बढेको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारीमा पहिलोपटक जाने नेपाली नागरिकहरुको संख्यामा पनि कमी आएको जनाएको छ।

‘श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ’ राष्ट्रबैंकको प्रतिवेदनमा भनिएको छ ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको थियो।' चालु आर्थिक वर्षमा मलेसिया जानेको संख्या बढेको छ भने साउदी अरेविया र कतार जानेको संख्या घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.