|
Photo : AP

उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवा भ्रमणमा निस्किएका छन्। उनी सोमबार अपरान्ह क्युवा पुग्ने बताइएको छ।

उत्तर कोरिया र क्युवाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न विदेशमन्त्री हु क्युवा आउन लागेको क्युवाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री हु ले क्युवाली समकक्षी बुर्नो रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। दुईदिने क्युवा भ्रमणका क्रममा उनले हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने कार्यक्रम रहेको छ।

क्युवा र अमेरिकाको सम्बन्ध बिग्रिएको बेला उत्तरकोरियाली विदेशमन्त्रीको भ्रमण हुन लागेको हो। उत्तर कोरिया र अमेरिकाबीचको तनाव पनि कायमै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ। यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ।

उता क्युवासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिएको छ। क्युवासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युवामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको छ।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युवा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका समाचारमा जनाइएको छ।

उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन कडा रुपमा प्रस्तुत हुने गरेको छ। यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन।

त्यसैगरी क्युवासँग अमेरिकाको झण्डै आधा शताब्दि लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो। त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना भएको थियो। ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन। अहिले अमेरिकीहरु क्युवा जाँदा पनि सरकारको अनुमति लिएर जानुपर्दछ भने अमेरिकीले क्युवामा गएर वा क्युवालीले अमेरिकामा आएर व्यापार व्यवसाय गर्न नपाउने नयाँ व्यवस्था लागू गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.