|

दमकः झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपअन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। 

आर्मीले झापा ११ लाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो। खेलको १३औँ मिनेटमा राष्ट्रिय स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। झापाका कप्तान योगेश गुरुङले डी–बक्स नजिकै आर्मीका सन्तोष तामाङलाई फल गरेपछि आर्मीले फ्रि किक पाएको थियो। तामाङले गरेको फ्रि किकलाई झापाका गोलकिपर किशोर गिरी अनमार्क रहेको बेला नवयुगले गोल गरेका थिए। 

३६औँ मिनेटमा नवयुगले दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए। उनले जर्ज प्रिन्स कार्कीको पासमा जाली बललाई चुमाएका थिए। त्यस्तै ७८औँ मिनेटमा आर्मीका सब्स्टिच्यूट खेलाडी दीप लामाले गोल गर्दै टिमलाई जीत दिलाएका थिए। 

खेलको दोस्रो मिनेटमै डी–बक्सभित्रबाट नवयुगले गरेको प्रहार पोष्टको क्रसबार नजिकैबाट बाहिरिएको थियो। त्यस्तै १४औँ मिनेटमा जर्ज प्रिन्सको प्रहार बार नजिकैबाट बाहिरियो। ३७औँ मिनेटमा झापाका विशाल राईको कडा प्रहार आर्मी गोलरक्षक विकेश कुथुले पञ्च गर्दै जोगाएका थिए। ७१औँ मिनेटमा नवयुगको प्रहार झापाका गोलरक्षक किशोरले पञ्च गरेर गोल हुनबाट जोगाएका थिए। ८८औँ मिनेटमा डी–बक्सभित्रबाट झापाका पुजन उपरकोटीेले गरेको कडा प्रहार आर्मीका गोलरक्षक कुथुले फर्काएका थिए। 

खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ भए। उनले नगद १० हजार रूपैयाँ प्राप्त गरे। प्रतियोगितामा मंगलबार अन्तिम सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.