|

  • विकाश डाँगी-

दाङ : माओवादी केन्द्रका नेता, उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार कृष्णबहादुर महराले आफूले चुनाव जितेपछि १६ वटा बुँदा आफ्ना घोषणा पत्र बनाएका छन्।   उनले दाङलाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध बनाउनेलगायतका प्रतिवद्धता जनाएका छन्।

समृद्ध नेपालका लागि समृद्ध दाङ,  हाम्रो अभियान

कृषि-पर्यटन, जलस्रोत र पूर्वाधार- दाङ जिल्लाको समृद्धिको आधार भन्दै आफ्नो प्रतिबद्धता  गरेका छन्। महराले दाङलाई सडक तथा यातायातका लागि दाङलाई केन्द्र बनाई दाङ-प्युठान-अर्घाखाँची-पाल्पा-पोखरा, दाङ-सुर्खेत-रारा,  दाङ-कोइलाबास, दाङ-रोल्पा (सहिदमार्ग) हुँदै डोल्पा सडकलाई द्रुत मार्गको रुपमा विकास गर्नेदाङ-कपिलवस्तु-लुम्बिनी र दाङ-नेपालगञ्ज-बर्दिया-कैलालीलाई रेल मार्गले जोड्ने योजना बनाएका छन्।

त्यस्तै, घोराही चक्रपथ, तुलसीपुर चक्रपथ र राप्ती चक्रपथ देउखुरी निर्माण गरिने, जिल्लाका हरेक वडा-गाउँ-टोललाई सडक सञ्जालले जोड्नुका साथै सम्पूर्ण सडकहरुलाई कालोपत्रे बनाउने योजना अघिसारेका छन्।

त्यस्तै, सहिदमार्ग घोराही-होलेरी-जलजला सहिदमार्गलाई पूर्णता दिइने, घोराही-बंगलाचुली हुँदै प्युठानको देविस्थान जोड्ने सडक, रिहार-नारायणपुर-होलेरी सडक, छिल्लीकोट-बिजौरी-मानपुर सडक, कुइरेपानी-पचुर्खा-सर्रा सडक (दामोदर रोड), भैंसाहीचोक-घनिबगिया-गुलरिया-सर्रा सडकलाई स्तरोन्नति गरी कालोपत्रे योजना बनाएका छन्।

त्यस्तै, दाङ उपत्यकालाई पूर्व-पश्चिम राजमार्गमा जोड्न सुरुङ मार्ग निर्माणदेखि इन्धन डिपोलगायत आवश्यक पूर्वाधार निर्माण गरी टरिगाउँ विमानस्थललाई नियमित सञ्चालन गरिने र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सम्मका प्रतिबद्धता  घोषणा गरेका छन्।
त्यस्तै जिल्लामा सिँचाइ तथा खानेपानीका लागि ग्वारखोला, हापुरखोला, पातुखोला दाङका ठाडा खोलाहरुमा उच्च बाँध निर्माण गरी सिँचाइ, खानेपानी, विद्युत उत्पादन र पर्यटनको लागि बनाउने योजना बनाएका छन्  राप्ती नदीद्वारा सिञ्चित हुने देउखुरी उपत्यकामा निर्माणाधीन बड्कापथ र प्रगन्ना सिचाइ आयोजनालाई

तत्काल सम्पन्न गरिनेदेखि नदीको पानीबाट सिँचाइ सुविधा उपलब्ध गराउन प्राविधिक रुपमा कठिन हुने स्थानमा बोरिङ, डिपबोरिङको व्यवस्था लगायतका प्रतिबद्धता  छन्। जिल्लाका पहाडी तथा उच्च समतल क्षेत्रमा लिफ्टको माध्यमबाट पर्याप्त खानेपानी तथा सिँचाइको व्यवस्था गर्नेमाडी र शारदा नदीको पानी डाइभर्सनका लागि सम्भाव्यता अध्ययनसमेत घोषणा पत्रमा उल्लेख गेरका छन्।

जिल्लालाई कृषितर्फ आधुनिकीकरण र व्यावसायीकरणलाई जोड  गर्ने यसका लागि दाङमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्नेप्रतिवद्धता गरेका छन्। साना तथा मध्यम कृषक केन्द्रित कृषि कार्यक्रम तर्जुमा गरी कृषि तथा पशुजन्य उत्पादन वृद्धि  गर्ने,बंगलाचुली गाउँपालिकालाई अदुवा र फलफूल खेती उत्पादनको केन्द्र बनाउनेदेखि कृषकलाई समयमै मल, बिउ, कृषि औजार, सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने समेत घोषणा गरेका छन्।

महराले जिल्लामा स्वास्थ्यतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधुनिक, सुविधासम्पन्न शिक्षण अस्पताल (मेडिकल कलेज) शीघ्र स्थापना गर्ने र राप्ती अञ्चल अस्पताल तुलसीपुर र लमही अस्पतालमा सबै प्रकारको विशेषज्ञ सेवाको व्यवस्था गरिने आफ्नो प्रतिबद्धतामा जनाएको छन्।

त्यस्तै, तुलसीपुरमा न्यूरोसम्बन्धी विशेषज्ञ सेवा र लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने, प्रत्येक गाउँपालिकामा कम्तीमा १५ शय्याको अस्पताल स्थापना गरिनेदेखी विपन्न र वृद्धहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिने योजना बनाएका छन्।

 महराले जिल्लामा शिक्षातर्फ दाङमा प्रादेशिक विश्वविद्यालय र बहुप्राविधिक विश्वविद्यालय स्थापना गर्ने, नेपाल संस्कृत विश्व विद्यालयलाई पूर्वीय दर्शन अध्ययन केन्द्रको रुपमा विकास योजना बनाएका छन। आयुर्वेद शिक्षण अस्पताललाई आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा विकास गरी आयुर्वेदिक औषधिहरुको उत्पादन गर्ने, सामुदायिक विद्यालयहरुको स्तरोन्नति गरी प्रत्येक पालिकामा एक नमुना विद्यालय योजना बनाएका छन्।

त्यस्तै, अर्को योजना बनाएका छन्, ऊर्जा  प्रदेशकै शान, उज्यालो दाङ भन्ने नाराका साथ जिल्लाका सबै घरहरुमा विद्युतीकरण गरी उज्यालो दाङ कार्यक्रमले जोड दिने। विद्युत विस्तार हुन नसकेका ठाउँमा अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिदिने।  विद्युत, टेलिफोन लगायतका आकाशे तार तथा पोलहरु हटाई जमिनमुनिबाट विस्तार  गर्ने योजना बनाएका छन।

जिल्लालाई उद्योगतर्फ, औद्योगिक क्षेत्रको स्थापना गरी व्यवस्थित औद्योगिकरणलाई जोड दिने। कृषि तथा अन्य स्थानीय स्रोतमा आधारित उद्योगहरुको विकास गर्दै ठूला उद्योगहरुको स्थापना तथा सञ्चालन गर्ने चिउरी, रिठा, मालागेरी, मासु, दूध, फलफूल आदिका लागि आधुनिक कृषि प्रशोधन उद्योग स्थापना गर्ने। जिल्लामा रहेका सिमेन्ट उद्योग र कोइलाखानीलाई वातावरणमैत्री बनाउँदै जिल्लाको आर्थिक विकासमा उचित प्रयोग योजना प्रतिबद्धतामार्फत जनाएका छन्।

त्यस्तै, दाङलाई ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्या-पर्यटनको गुरुयोजना तयार गरी दाङलाई पर्यटनको केन्द्र बनाइने। दाङलाई लुम्बिनी-रारा जोड्ने पर्यटन रुटको विकास गर्ने। दाङको धारपानी-रिहार-लुम्बिनी-रिडी-सुपादेउराली-स्वर्गद्वारी-रुन्टीगढी-बाह्रकुने नयाँ पर्यटन सर्किट विकास गरिने योजना बनाएका छन।  त्यस्तै स्थानीय उत्पादनको माध्यमबाट रोजगारी सिर्जना गर्ने। युवा प्रतिभाहरुको खोजी गरी उनीहरुले गरेका आविष्कारहरुलाई प्रोत्साहन, प्रवर्द्धन र बजारीकरण गर्नेदेखि

प्रदेश राजधानी निर्माण पूर्वाधार विकासमा युवालाई संलग्न गराई रोजगारीका अवसरहरु उपलब्ध घोषणा पत्रमा उल्लेख गरेका छन्। जिल्लामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने।  घोराही र लमहीमा निर्माणाधीन क्रिकेट मैदानलाई पूर्णता दिने। साथै जिल्लाभरि निर्माण भइरहेका खेलमैदानहरुलाई पूर्णता दिई एक वडा एक खेलमैदानको अवधारणालाई लागू जस्ता योजना छन्।

त्यस्तै, सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्‍याइने, ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायातमा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सत प्रतिशत छुटको व्यवस्था गर्ने।

सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण तथा न्यानो कपडाका लागि स्थानीय तहमार्फत  ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा योजना छ। जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ताका परिवार, घाइते तथा अपांगहरुलाई उत्पादन कार्य र रोजगारीमा विशेष प्राथमिकता दिने घोषणा पत्रमा उल्लेख गरेका छन।

त्यस्तै, वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने। भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्ने। भूमिको प्रयोग सम्बन्धमा भू-उपयोग नीति तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जस्ता प्रतिबद्धता छन। त्यसैगरी जिल्लाका छापा तथा विद्युतीय सञ्चारमाध्यामहरुलाई विकासमैत्री सामग्री प्रकाशन-प्रसारण गर्न प्रोत्साहन गर्ने। दाङ जिल्लामा एक भिडियो कन्फ्रेन्स हल निर्माण गर्ने। दाङ जिल्लालाई सूचना प्रविधिको केन्द्रको रुपमा विकास गर्ने योजना बनाएका छन्।

त्यसैगरी प्रदेशस्तरीय कलासाहित्य तथा संस्कृति प्रतिष्ठानको स्थापना गर्ने।  कला साहित्य तथा संस्कृतिको व्यवस्थित अध्ययन र अनुसन्धान गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने। पुरातात्विक र ऐतिहासिक महत्व बोकेको सुकौराको दंशीशरण दरबार, ग्वारखोला सभ्यता, तुही दाङको पुरातात्विक उत्खनन, संरक्षण र सम्बर्द्धन गर्ने योजना बनाएका छन्।  त्यस्तै, कुनै पनि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गर्ने। सेवा प्रवाह गर्ने निकायहरुको पारदर्शिता, असल आचरण र जवाफदेहिताको ग्यारेन्टी गर्ने।

सरकारी कार्यालयहरुमा सम्पूर्ण आर्थिक कारोबारलाई नगदविहीन मुद्रा प्रणालीमा आबद्ध गरिने प्रतिबद्धता छन्।  त्यस्तै दाङको भौगोलिक स्वरुपअनुसार वातावरण संरक्षण गर्ने विशेष गरी महाभारत श्रृंखला र चुरेभावर संरक्षण विकास र उपयोगको गुरुयोजना तयार पार्ने। जलाधार, पानी मुल संरक्षणको लागि बाँध निर्माण गरी सिँचाइ, खानेपानी, विद्युतका लागि विशेष रणनीति बनाउने योजना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.