|

काठमाडौं: गीत/गजल गायन, संगीत र लेखनमा समेत राम्रो परिचय बनाइसकेका मनोजराज मंगलबार राजधानीको सर्वनाम थिएटरमा गुञ्जिए। 'महफिलमा मनोजराज' नाम दिइएको उक्त कार्यक्रममा मनोजराजले मोतीराम भट्टदेखि बाबु त्रिपाठीसम्मका गजल गाएका थिए।

मधुवन साहित्य परिवार, शब्दघर र मूर्च्छना संगीत एकेडेमीद्वारा आयोजित ‘महफिल’मा गायनको सुरुवात आदिगजलकार मोतीराम भट्टद्वारा लिखित 'यी सानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे ' बाट गरेका थिए।

मनोजराजले गजलकार मनु ब्राजाकीको ‘हीरा हुन् कि मोती हुन् आँसुका यी दाना, सागरभन्दा धेरै ठूला मुटुभन्दा साना’, संगीतकार सन्तोष श्रेष्ठद्वारा रचित ‘कति खुसी हुन्थेँ होला तिम्लाई आफ्नो मान्छे भन्न पाए’, कपिल अञ्जानको ‘जाँदैन खिएर तिम्रो तस्बीर’, ऋषि बस्ताकोटीको ‘ओखती छ तनको बिरामीलाई’, विजय योजितको ‘शराबीहरूको कहाँ दिल हुनेछ’, पुरुषोत्तम ढुंगेलको ‘हुन्छ मन पागल अक्सर रातीराती’ तथा उनी आफ्नै उपनाम अन्जान अपरिचितका नाममा रचित केही गजल गाएका थिए।

मनोजकी श्रीमती कृष्णा शिवाकोटीले सहगायिकाका रूपमा मनोजकै संगीतका दुइटा गजल गाइन्, ‘बितेछन् सारा रात जिस्किँदा जिस्किँदै’ र ‘आखाँभरि आँसु राखेकी छु।’ 

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, गजलकार ज्ञानुवाकर पौडेल, कवि/गीतकार दिनेश अधिकारी र गजलकार रवि प्राञ्जलले प्रकट पँगेनी शिवद्वारा लिखित र मनोजकै संगीत/गायन रहेको ‘मैसाब’को अडियो सार्वजनिक गरे।

मनोजराजलाई हार्मोनियममा मीनेन्द्र कुमार, तबलामा कुन्दन शाह, बाँसुरीमा नगेन्द्र राई, अक्टोप्याडमा सबवन गायक, इलेक्ट्रिक गितारमा सञ्जीव सुब्बा र रिदम गितारमा योगेश काजीले साथ दिएका थिए ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.