|

काठमाडौं: राष्ट्रिय योजना आयोगका पूर्व सदस्य शम्भुशरण कायस्थले मुलुकको विकासको अवरोध वर्तमान कर्मचारीतन्त्र र निजामती सेवा ऐन भएको बताएका छन्। 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा नेपाल सरकारका पूर्व सचिव कायस्थले भने, ‘राजनीतिक तह वा सरकार जतिसुकै सक्षम भए पनि वर्तमान कर्मचारीतन्त्र मुलुक विकासको बाधक हो, यसलाई परिवर्तन नगरेसम्म मुलुकमा समृद्धिको सम्भावना छैन।’

कायस्थले आफूले ५० वर्ष लामो कर्मचारी भएर काम गरेको अनुभवको आधारमा अहिलेको कर्मचारीतन्त्रलाई खारेज गरे मात्र देशले उन्नति गर्ने र समृद्ध हुने कल्पना गर्न सकिने दाबी गरे। ‘राज्यले पर्याप्त बजेट, स्रोत, साधन र तयारी गरे पनि किन विकासले गति लिएन भन्न हेर्नुस् त’, कायस्थले भने, 'यो ऐन र कर्मचारीतन्त्र खारेज गर्न सहज छैन, तर त्यो चुनौती लिन सकेमा मुलुकको समृद्धि सम्भव छ।’

कायस्थले राजनीतिक दलका शीर्ष र प्रभावशाली नेतासमेत सच्चिन जरुरी भएको भन्दै नियत ठीक नभएको नेताको कारण पनि विकासमा बाधा पुगेका दाबी गरे। देश र जनताको हितको पक्षमा काम गर्छु, कुनै दलको नेताको इसारामा दलिय स्वार्थबमोजिम काम गर्दिनँ भन्दा आफू छ वर्षमा नौवटा मन्त्रालयमा सरुवा हुनुपरेको उनले सुनाए। 

कांग्रेसले घोषणापत्रमा तराईलाई लक्षित गरी नीति कार्यक्रम ल्याउन नसकेको भन्दै कायस्थले बंगुर पालनको लागि राज्यले पर्याप्त लगानी गरेबमोजिम प्रतिफल नपाएको धारणा राखे। उनले भने, ‘आज सप्तरी, सिरहा र धनुषाका पोखरीमा पालिएका माछा वंगालमा निर्यात भएको छ, तर राज्यले यसलाई ठूलो परियोजनाको रूपमा किन लगानी गर्दैन?’

भारतसँग सम्झौता गरेर ठूला जलविद्युत आयोजनाहरू निर्माण गर्न खोज्दा देश नै बेच्न लागेको आरोपलाई दलका नेताले चिर्न नसकेको उनले गुनासो गरे। उनले नेपालको आर्थिक विकासको मेरुदण्ड जलविद्युत आयोजना र कृषि नै भएको उनको भनाइ थियो।

कांग्रेसले आयोजना गरेको अन्तर्क्रियामा सहभागी पूर्व सचिव कृष्ण ज्ञवाली, व्यवसायी प्रचण्डमान श्रेष्ठ, डा. विश्व पौडेल, कमल रिजाललगायतले कांग्रेसले समाजवादी आर्थिक नीतिलाई प्राथमिकता दिन नसकेको तथा शिक्षा र स्वास्थ्य नीतिले समाजको तत्लो वर्गलाई सम्बोधन गर्नसक्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.