भन्छन्, भोट हालेर के हुन्छ ?

|
तस्विर– कान्तिपुर

नेपालगञ्ज : कालिकोट धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगञ्ज सीमा हुँदै मजदुरीका लागि भारतको सिमला गए। उनीसँगै गाउँका छ युवाहरू पनि भोट हाल्न छाडेर भारत गएका छन्। उनीहरूलाई चुनावी माहौलले छोएको छैन। भोटभन्दा पनि उनीहरूले परिवार पाल्ने चटारो छ। 
 

यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारीको समस्या समाधान नभएको उनीहरूको गुनासो छ। ‘भोट हालेर के हुन्छ र? पहिलेको चुनावमा भोट हालिएकै हो।नेताहरू जितेर हाम्रा लागि केही गर्ने होईनन्,’ निर्वाचनको पुर्ब सन्ध्यामा भारत जाँदै गरेको अवस्थामा नेपाल—भारत सीमा जमुनाहामा भेटिएका उनले भने, ‘जितेका नेताहरूले रोजगारी दिएको भए किन भारत जानु पर्थ्यो?’ 
 
राजनीतिक दलहरूले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको चुनावी आश्वास बाँडिरहेका बेला प्रदेश ५ र ६ का कतिपय युवाहरू धमाधम काममा खोजीमा भारत पस्न थालेका छन्। मंगबलार नेपालगञ्ज नाका हुँदै ४ सय ६२ जना भारत छिरेका सिमानास्थित एक संस्थाको तथ्याङ्क छ। बुधबार चार सय युवा भारत गएका छन्। उनीहरूमा राजनीतिप्रति तीव्र वितृष्णा छ।

नेताहरूले गाउँघरको विकास गरेनन् नै रोजगारी नदिएको गुनासो घर छोड्ने युवाहरूको छ। निर्वाचनको मुखमा घर छोड्नेहरूमा ६ नम्बर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवाहरू छन्। त्यस्तै, ५ नम्बर प्रदेशका बर्दिया, बाँके लगायतका युवाहरू पनि काम खोजिमा भारत पसिरहेका छन्। 

भारत जाने अधिकांश युवाले भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पञ्जावलगायत शहरमा काम गर्ने बताएका छ। बढीजसो मध्यपश्चिम क्षेत्रका सर्वसाधारणहरू कालापहाड, चण्डीगढ, सिमला जाने गर्छन। नेपालीहरूले त्यहाँ सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन्। 
 
‘नेताहरू चुनावका बेला रोजगार दिन्छु भन्छन्। गाउँको विकास गर्ने आश्वासन दिन्छन्। तर जितिसकेपछि हाम्रा लागि केही गर्दैनन्,’ भारत जाँदै गरेका सल्यान शारदा नगरपालिका ७ का नन्दवीर कामी भन्छन्, ‘त्यसैले यो निर्वाचनमा भोट नहाल्ने निर्णय गरेर भारत जाँदै छौँ। तीन\चार महिना काम गरेर घर फर्किन्छौँ।’ 
 
नेपाल—भारत सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मुखमा दैनिक तीन सयदेखि साढे तीन सय युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन्। मुलुकमा चुनावी सरगर्मी बढिरहेकानेपालगञ्ज नाका भएर भारत जाने नेपाली युवाहरूको संख्यामा कमी आएको छैन। 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.