|

गोरखा : पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखाको ३ वटा मतदान केन्द्र महिला कर्मचारीले मात्रै सम्हाल्ने भएका छन्। गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वल्र्ड क्यापिटल मावि रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन कार्यालय गोरखाका निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए।

ती मतदान केन्द्रमा कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि महिला मात्रै खटिनेछन्। बालमन्दिर मावि छहरेमा गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंह भण्डारीलाई मतदान अधिकृत तोकिएको छ। उनीसँगै अन्य ८ महिला कर्मचारी उक्त केन्द्रमा खटिने जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताए। सो केन्द्रमा ८६१ मतदाता रहेका छन्।

सरस्वती मावि आहालेमा महिला तथा बालबालिका कार्यालय प्रमुख सुशीला वाग्लेलाई मतदान अधिकृत तोकिएको छ। उनीसँगै अन्य ८ जना महिला कर्मचारी खटिनेछन्। गोरखा क्षेत्र नम्बर २ मा पर्ने उक्त मतदान केन्द्रमा ९३२ जना मतदाता रहेका छन्।

द वर्ल्ड क्यापिटल मावि रानीवनको ‘ख’ मतदान केन्द्रमा जिल्ला अस्पताल गोरखाकी डा. अनमिका कर्ण मतदान अधिकृतको रुपमा खटिने जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताए। ८४० जना मतदाता रहेको उक्त केन्द्रमा कर्णसँगै अन्य आठ जना महिला कर्मचारी खटिनेछन्। उक्त केन्द्र गोरखा क्षेत्र नम्बर २ मै पर्छ।

महिलाहरुलाई नेतृत्वको अवसर प्रदान गर्ने उद्देश्यले केही मतदान केन्द्र महिलामैत्री बनाइएको निर्वाचन अधिकारी सापकोटाले बताए। ‘महिला पनि पुरुषभन्दा कम छैनन्, दिएको जिम्मेवारी पुरुषसरह बहन गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि केही केन्द्र उहाँहरुलाई जिम्मा लगाइएको हो, यसले उहाँहरुलाई थप जिम्मेवारी बहन गर्न सहयोग पुग्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.