|

जनकपुरधाम: मिथिला संस्कृतिको महत्त्वपूर्ण महोत्सव रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ। सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ। 

त्रेता युगमा मंसिर शुक्लपक्षको पञ्चमी तिथिका दिन मर्यादा पुरुषोतम भगवान राम र जनक नन्दनी जानकीबीच भएको वैवाहिक बन्धनको स्मरणमा हजारौँ नरनारीहरूले हर्षोल्लासपूर्वक बिहीबार जनकपुरमा विवाह पञ्चमी मनाइरहेका छन्। 

त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी अर्थात् जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथिको रूपमा मानिन्छ। त्रेता युगको रामायणका प्रसंगअन्तर्गत विवाह पञ्चमीको मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम-सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृतिअनुसार भएको आधारमा आज २१औँ शताब्दीसम्म आइपुग्दासमेत सोही परम्परालाई निरन्तरता दिइएको छ।

राजा जनकले संरक्षण गरिराखेको शिव धनु, जो ठूलाठूला वीरहरूले पनि उचाल्न सक्दैन थिए, सीताले उक्त धनुष पूजा कोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् भनिन्छ। त्यसैले नै राजा जनकले शिव धनुषमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए। त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो भन्ने मानिएको छ। त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो। सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसँग विवाह भएको थियो।

विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागानासहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभायात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ।

यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठा गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ। यसरी भारतबाट आउने जन्तीहरूमा विशेषतः साधू, सन्तहरू हुने गर्दछन्। पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ। आज जानकी मन्दिर परिसरमा ठूलो मेला लागेको छ।

हेर्नुहोस् फोटा:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.