|

रसुवा : पर्यटकीय क्षेत्र लाङटाङका मतदाताले यो पटक पनि उम्मेदवारको मुखै नदेखी मतदान गर्दैछन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मत माग्न कुनै उम्मेदवार नआएको  लाङटाङका डेरूप तामाङले बताए।‘उम्मेदवार नआए पनि मतदान त गर्नैपर्यो’, उनले भने, ‘स्थानीय कार्यकर्ताले भने आफ्ना उम्मेदवारका नाममा मत मागेका छन्।

विगतमा भएका आम निर्वाचनमा पनि उम्मेदवारहरू  लाङटाङ नपुगेका उनले बताए। २०४८, २०५१, २०५६ र २०७० सालमा भएका आम निर्वाचनमा उम्मेदवारको मुखै नदेखी मत दिएका थिए,  लाङटाङवासीले।

उम्मेदवार नआइपवुगे पनि उनीहरूले आफ्नो रोजाइका उम्मेदवारलाई मतदान गर्दै आएका छन्। सदरमुकाम धुञ्चेबाट करिब दुई दिन पैदल यात्रा गरेर पुगिने  लाङटाङलाई सडक सञ्जालले छोएको छैन। दुर्गम भएका कारण उम्मेदवारहरू मत माग्न नआएको स्थानीय बासिन्दाको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा भने  लाङटाङकै स्थानीय उम्मेदवार भएका कारण सहज भएको थियो। उम्मेदवार भेटेर कुरा सुनेको भए मतदान गर्न सजिलो हुने स्थानीय बताउँछन्। २०७२ वैशाख १२ गतेको भूकम्पले लाङटाङलाई तहसनहस बनाएको थियो। गाउँमा उम्मेदवार नआउँदा विकास र पुनर्निर्माणका कुरा ओझेलमा पर्ने हो कि भन्ने चिन्ता स्थानीयलाई छ। 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.