|

बैतडी : मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने बैतडी जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी परिचालन गरिएको छ। निर्वाचन सामग्रीसहित १ सय ८२ मतदान अधिकृत र १८२ सहायक मतदान अधिकृत लगायतका अन्य कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रतिर प्रस्थान गरेका छन्। 

प्रहरीको स्कर्टिङमा मतपेटिका, मतपत्र लगायतका निर्वाचनका सामग्रीहरु सबै केन्द्रमा जीपमा बोकेर लगिएको मख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शुक्रबारदेखि मतदान केन्द्र निर्माण र व्यवस्थापनको कार्य सुरु हुने कार्यालयले जनाएको छ।

बैतडीमा रहेका १८२ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा बुधबार कर्मचारी खटिएका हुन् भने नजिकका मतदान केन्द्रमा बिहीबार कर्मचारीहरु मतदान सामग्रीसहित प्रस्थान गरेका छन्। भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाँउपालिका र पुरचौडी नगरपालिकामा बुधबार मतदान सामग्री सहित कर्मचारी पठाइएको हो।

बिहीबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा निर्वाचन सामग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। ‘सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारीहरु सदरमुकामबाट प्रस्थान गरिसके,’ उनले भने, ‘शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्छन्।’

३५ सय बढी जनशक्ति परिचालन

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बैतडीमा २ हजार ६३ जना सुरक्षाकर्मी, १ हजार ४ सय ४९ जना निजामती कर्मचारी र स्वयमंसेवक गरी ३ हजार ५ सय १२ जना जनशक्ति परिचालन गरिएको छ।

बैतडीमा ३ अति संवेदनशील र ३८ ओटा संवेदनशील मतदानस्थल तोकिएको छ। ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। चुनावलाई मध्यनजर गरेर बिहीबार राति १२ बजेदेखि ७२ घण्टाका लागि सीमा नाका झुलाघाटमा बन्द गरिने जोशीले बताए।

यस्तै निर्वाचनको वतावरण शान्तिपूर्ण बनाउन मंसिर ५ मंगलवारदेखि मतगणना नसकुञ्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिएको छ। प्रतिनिधिसभाको लागि १ र प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३१९ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.