|

  • अर्जुन सुवेदी-

सुनसरी : इटहरी उपमहानगरपालिकामा सिएफएल चिम खरिद प्रकरणमा भएको भ्रष्टाचारका दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसबाट निर्वाचित १२ जना वडा अध्यक्षहरुले माग गरेका छन्। इटहरीमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ।

उपमहानगरपालिकाका निर्वाचित १२ जना वडाध्यक्षहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै वडा कार्यालयहरुमा उपलब्ध गराइएका सिएफएल चिमहरुको मूल्य उल्लेख नगरी पठाएर उपमहानगरपालिकाले आफूहरुलाई गुमराहमा राखेको आरोपसमेत लगाएका छन्।

उनीहरुले उपमहानगरले कार्यपालिकाको समेत बैठक नबोलाएको र लाखौँ आर्थिक भ्रष्टाचार भएको विषयमा समाचार सार्वजनिक भइसक्दा पनि नगरप्रमुख उपप्रमुखले बैठकसमेत नबोलाउनु आपत्तिजनक भएको बताए।

सडकबत्ती खरिदमा आर्थिक अनियमितता भएको विषयलाई अख्तियारले चासो दिए पनि अहिलेसम्म नगरप्रमुख उपप्रमुखले कुनै चासो नदिनु आश्चर्यजनक भएको वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए। उनले जनप्रतिनिधि हुन या कर्मचारी नै हुन आर्थिक अनियमिततामा संलग्न रहेको पाइएमा कसैलाई पनि उन्मुक्ति दिन नहुने आफूहरुको माग रहेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा कोटेसनबाट सामान खरिद गर्दा ५ लाखभन्दा बढीको खरिद गर्न नपाइने तथा एक फर्मलाई दुई पटकभन्दा बढी खरिद गर्न दिन नपाइने नियम भए पनि सोकोसमेत पालना नभएको वडाध्यक्षहरुले आरोप लगाएका छन्। सिएफएल चिम र सेट खरिद गर्दा खरिद ऐनको पालना नगरिएकाले आपूmहरुलाई समेत आशंका लागेको वडाध्यक्षहरु आरोप लगाए।

इटहरी उपमहानगर कार्यपालिकामा एमालेको बहुमत भएकाले आफूहरुको भनाइ प्रमुख उपप्रमुखले नसुन्ने गरेको कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुको आरोप छ।

मेरो संलग्नता छैन : उपप्रमुख

इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले नगरपालिकामा भएको सिएफएल खरिद र भुक्तानी प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरिन्। खरिद प्रक्रिया र भुक्तानी प्रक्रियामा कानुनले उपप्रमुखलाई संलग्नता नगरेकाले कानुनबाहिर गएर आफू संलग्न नभएको विज्ञप्ति जारी गर्दै दाबी गरेकी छन्।

उनले खरिद प्रक्रियामा त्रुटि भएको र भ्रष्टाचार भएको भए भ्रष्टाचार गर्ने जो कोहीलाई आफूले सर्मथन र संरक्षण नगर्नेसमेत प्रतिबद्धता जनाएकी थिइन्। खरिद प्रक्रियामा आफ्नोसमेत संलग्नता भएको र भ्रष्टाचार गर्नेहरुलाई संरक्षण गरेको भनेर केही सञ्चार माध्यममा समाचार आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा उपप्रमुख गौतमले आफू सामाजिक रुपान्तरण र भ्रष्टचारविरुद्ध यसअघि पनि शतिसाल जस्तै खडा भएकाले अहिले पनि आफू भ्रष्टाचारीविरुद्ध उभिने विज्ञप्तिमा उल्लेख गरेकी छन्।

उनले सिएफएल चिम खरिद प्रकरणमा अख्तियारले थालेको छानबिन प्रक्रियाको स्वागत गरेकी छन्। आफू न्यायिक समितिको संयोजक रहे पनि यस विषयमा छानबिन समिति बनाउने कार्यपालिकाको विषय रहेको हुनाले आफ्नो क्षेत्राधिकार नरहेको जनाइन्।

नगरप्रमुखले शुक्रबार पत्रकार सम्मेलन गर्दै

इटहरी उपमहानगरपालिकामा भएको सिएफल बल्ब खरिद प्रकरणको सम्बन्धमा इटहरी उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ। उपमहानगरपालिकाले खरिद प्रकरणमा भएको भनिएको अनियमितताको यथार्थ तथा आधिकारिक धारणा दिनका लागि पत्रकार सम्मेलन गर्न लागेको प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको बताइएको छ।

सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेपछि अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात मंगलबार नियन्त्रणमा लिएको थियो। सोही विषयमा आधिकारिक धारणा दिन पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.