'मौनअवधि कि धनावधि?'

|

काठमाडौं :  निर्वाचनमा पर्यवेक्षक संस्थाहरुले निर्वाचनको क्रममा सरकार र दलहरु चरम अनुशासनहीन बनेको र निर्वाचन आयोग निरीह बनेको आरोप लगाएका छन्। शुक्रबार निर्वाचन पर्यवेक्षक संस्थाहरु नियोक, जियोक र संकल्पले संयुक्त कार्यक्रम गरी सरकार र दलहरु चरम अनुशासनहीन बन्दा निर्वाचन आयोग मुकदर्शक भएको बताएका हुन्।

'आचारसंहिता पालना भएको छैन, अनुशासन कायम गर्ने सरकार र दलहरु अनुशासनहीन बनेका छन्, तर सरकारको सामु निर्वाचन आयोग निरीह बनेको छ' नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले भने। उनले निर्वाचन आयोगले आफ्नो अधिकार पूर्ण रुपमा प्रयोग गर्न नसकेको भन्दै आयोगको भूमिकाले एउटा संवैधानिक निकायको अधिकारमाथिनै प्रश्न उठेको बताए।

निजामती कर्मचारी र सुरक्षा अधिकारीहरुको सरुवा, बढुवा र आर्थिक सहायता वितरण लगायतका कामहरु आचारसंहिता विपरीत भए पनि सरकारले त्यसलाई जारी राखेको पर्यवेक्षकहरुको भनाइ छ। जियोगका अध्यक्ष हिमालयशमशेर जबराले बिहीबार सीडीओ सरुपामा आयोगले लिएको अडान भने प्रशंसनीय रहेको बताए।  'पहिले निर्वाचन आयोगले आफ्नो अडान लिन सकेन, तर पछिल्लो समयमा निर्वाचन आयोगले लिएको अडान सह्राहनीय छ, यो महत्वपूर्ण कदम हो' जबराले भने।

मतदानको समयअघि पालना गर्नुपर्ने मौन अवधिलाई निर्वाचन पर्यवेक्षकहरुले धनावधिको संज्ञा दिएका छन्। 'हामीकोमा मौनवधिको समयलाई धनावधिको समय पनि भन्ने गरिन्छ, यो समयमा पैसाको प्रलोभन देखाउने पैसा वितरण गर्ने जस्ता कार्यहरु भएको पर्याप्त रुपमा देख्‍न  सकिन्छ' नियोकका महासचिव शिवाकोटीले भने। उनीहरुले निर्वाचनको खर्च तोकिएको सीमा भन्दा निकै माथि गएको समेत बताएका छन्। निर्वाचन आयोगले नियन्त्रण गर्न नसक्दा मनपरी खर्च भएको उनीहरुको भनाइ छ।

यसरी हुँदैछ परिवेक्षण

जियोक, नियोक र संकल्पले विभिन्न जिल्लाहरुमा आफ्ना निर्वाचन पर्यवेक्षकहरु खटाउने भएको छ। नियोकले पहिलो चरणमा ३२ जिल्लाका ३७ वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षकहरु खटाउने जनाएको छ।  त्यस्तै संवेदनशील मतदान केन्द्रमा घुम्ती पर्यवेक्षण टोली, अतिरिक्त निर्वाचन विज्ञ खटाउने जनाएको छ। त्यस्तै पर्यवक्षेक कल सेन्टरको स्थापना गरी निर्वाचनका क्रममा भएका घटनाहरुको जानकारी पनि दिने महासचिव शिवाकोटीले जानकारी दिए। यसका लागि टोल फ्रि नम्बर ९८०१५६१३८४ र ९८४१४५५५०४ पनि सार्वजनिक गरेको छ।

त्यस्तै जियोकले १२ जिल्लाका ३५० स्थानीय तहमा पर्यवेक्षकहरु परिचालन गर्ने जनाएको छ। जियोकले पनि यो क्षेत्रमा घुम्ती पर्यवेक्षक टोली खटाउनेछ। मतदानको क्रममा भएका घटनाबारे जानकारी गराउन सचिवालयमा ४२६६७३५ र ४२२८४९७ नम्बरको फोनको व्यवस्था गरेको जियोकले जनाएको छ। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म कल सेन्टरको व्यवस्था गरिएको छ। त्यस्तै संकल्पले १० जिल्लामा १६० पर्यवेक्षकहरु परिचालन गरेको छ। जिल्ला स्तरीय पर्यवेक्षक टोलीसमेत खटाइएको महासचिव शोभा बस्नेतले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.