|

चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो नभई फरक र नयाँ खालको भएको बताएका छन्।

नयाँ संविधानपछिको निर्वाचन नेपालको राजनीतिक आन्दोलन र नेपाल राष्ट्रकै इतिहासमा गुणात्मक हिसाबले पनि यो निर्वाचन विशिष्ट किसिमको नयाँ ढंगको भएको दाहालको भनाइ थियो। लामो संघर्षको परिणामको रुपमा यो निर्वाचन हुन लागेकाले यो ठूलो अवसर भएको दाहालले उल्लेख गरे।

वाइसिएल नेपाल र युवासंघ नेपालको चितवन क्षेत्र नम्बर ३ को संयुक्त भेलालाई शुक्रबार पश्चिम चितवनको पार्वतीपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले  यस्तो बताएका हुन्।

उनले वाम गठबन्धनलाई कम्युनिस्टको भविष्य सुनिश्चित गर्ने मात्रै नभई राजनीतिक स्थायित्व र जनताको विकास तथा समृद्धको आकांक्षालाई सम्बोधन गर्न महान् रणनीतिक उद्देश्यका साथ र नयाँ पहलकदमीका साथ अघि बढेको बताए।

मंसिर ३ गते छोरा प्रकाशको निधनपछि शोकमा रहेका दाहालले शुक्रबार पहिलो पटक चितवनको चुनावी कार्यक्रममा सम्बोधन गर्दै सबैले यो निर्वाचनलाई जनता र राष्ट्रका निम्ति ठूलो अवसरको रुपमा लिनुपर्ने उल्लेख गरे।

दाहालले भने, ‘७० वर्षदेखि जुन भुमरीमा परेको छ देश, कहिल्यै पनि ५ वर्ष सरकार चल्न नसक्ने र बने पनि बुर्जुवाको सरकार बनेकाले कहिल्यै पनि राष्ट्रको हित र सामाजिक न्याएमा ध्यान गएन।’

अब निर्वाचन पछिको कम्युनिस्टको सरकारले विकास ल्याउने दाबी उनको थियो। अब कम्युनिस्टहरुले नै  देशको जिम्मा लिनुपर्छ भन्दै कम्युनिस्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्ने औँल्याए। त्यही संकल्पका साथ अघि बढ्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए।

भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसिएलका अध्यक्ष दीपशिखा लगायतले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.