|
फोटो : कान्तिपुर

काठमाडौं:  कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ।

कृषि जग्गाको खण्डीकरण रोक्न गत साउन २६ मा मन्त्रिपरिषद्ले गरेको निर्णय फुकुवा गरिपाउँ भनी घरघडेरी डटकम प्रालिसहितका केही कम्पनी र व्यक्तिले मन्त्रालयमा निवेदन दिएका थिए।भूमिसुधारमन्त्री गोपाल दहितले तिनै निवेदनका आधारमा गत कात्तिक २४ मै फुकुवाको मन्त्रीस्तरीय निर्णय गरेका हुन्।‘काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको स्वीकृति लिई जग्गा प्लानिङ गर्नुपूर्व अनुमति लिएका त्यस्ता व्यक्ति, फर्म, संस्था वा कम्पनीले जग्गा प्लानिङ गर्न अनुमति लिएबमोजिमको प्रक्रिया पूरा गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई कित्ताकाट गरी बिक्रीवितरण गर्न फुकुवा गर्न बाधा नपुग्ने’ मन्त्रीस्तरीय निर्णयमा उल्लेख छ।

भूमिसुधार तथा व्यवस्थापन विभागले भने राजनीतिक संक्रमण तथा चुनावी माहोलका बेला भूमाफियाका पक्षमा फुकुवा निर्णय आएको भन्दै निर्णय कार्यान्वयनमा आलटाल गरिरहेको छ। तर आफ्ना पक्षमा निर्णय आएको भन्दै व्यवसायीहरू फेरि जग्गा खण्डीकरणको चलखेलमा सक्रिय हुन थालेका छन्।

‘जग्गा कित्ताकाट वा खरिदबिक्री सबै सर्वसाधारणको सरोकार हो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, सीमित व्यक्ति तथा कारोबारी कम्पनीका पक्षमा मन्त्री दहितले निर्णय गर्नुको कारण भने स्पष्ट हुन सकेको छैन।’

 

जग्गा प्लानिङ, कित्ताकाट र खरिदबिक्री रोक्का निर्णयविरुद्ध परेको उजुरीमा सर्वोच्च अदालतले गत मंसिर ३ मा जारी गरेको उत्प्रेषणमा एक महिनाको पेसी तोकी अन्तिम सुनुवाइ गरिने भनिएको छ। ‘यो विषयमा राज्यको बृहत्तर नीति र हित, नागरिक जीवनको हक, सम्पत्तिको हक, खाद्य सम्प्रभुताको हकसमेतसँग जोडिएकाले एक महिनाभित्र पेसी तोकी अन्तिम सुनुवाइका लागि पेस गर्नू’ भनेर न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले उत्प्रेषण आदेश दिएका थिए।

यी हुन कित्ताकाट फुकुवामा परेका व्यक्ति तथा कम्पनी

  • –घरघडेरी डटकम प्रालि
  • –ओमबहादुर घर्ती
  • –सीडी डेभलपर्स प्रालि
  • –सीई कन्स्ट्रक्सन प्रालि
  • –शिभम् डेभलपर्स प्रालि
  • –कमिटेड इन्टरप्रेनर रियल स्टेट प्रालि
  • –भिमोर प्रोपर्टी प्रालि
  • –चन्द्रागिरि नगर कोलोनी
  • –होमल्यान्ड हाउजिङ प्रालि ९सिपाडोल, भक्तपुर कित्ता नम्बर ३१२९–
  • प्रकाश आचार्य ९ललितपुर उपमहानगरपालिका–१४०
  • –होमल्यान्ड हाउजिङ प्रालि ९ललितपुर उपमहानगरपालिका–१४०

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.