|
दशरथचन्द नगरपालिका– ४ गढीमा नमुना मतदान गर्दै स्थानीय

बैतडी : प्रदेश नम्बर ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ। तर यी पहाडी जिल्लाका विकट गाउँबस्तीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन।

ग्रामीण क्षेत्रका अधिकांश मतदातालाई भोट कसरी हाल्ने भन्ने जानकारी छैन। गाउँका धेरै व्यक्ति मतदानको विषयमा अनभिज्ञ रहेको पञ्चेश्वर गाउँपालिका १ का स्थानिय सुजल चन्दले बताए। ‘केहीले मात्रै भोट खसाल्ने तरिका बुझेका छन् तर गाउँका अधिका‌ंश महिला वृद्धवृद्धालाई यसबारे जानकारी नै छैन’, उनले भने। 
मतदाता शिक्षा कार्यक्रम ढिलो सञ्चालन भएकाले निर्वाचन शिक्षा कार्यकर्ताहरु अधिकांश मतदातासम्म पुग्न सकेका छैनन्।

निर्वाचन आयोगले ठूलो मात्रामा रकम विनियोजन गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन सकेको पाटनका कपिल ऐरको गुनासो छ। ‘समयमै कार्यक्रम सुरु नगरिँदा मतदाता शिक्षाका लागि विनियोजन भएको रकम परिणाममुखी हुन सकेन’, उनले गुनासो गरे। 

बढी मत बदर हुने चिन्ता 

प्रदेश नम्बर ७ मा निर्वाचन हुने जिल्लामा विगतका तुलनामा धेरै ढिलो मतदाता शिक्षा कार्यक्रम सुरु भएकाले यो पटक अझ बढी मत बदर हुने चिन्ता स्थानीयको छ। निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवक गाउँगाउँमा खटाए पनि उनीहरु सबै मतदातासम्म पुग्न सकेका छैनन्। समय कम भएकाले थोरै संख्यामा रहेका स्वयंसेवक सबै मतदातासम्म पुग्न नसकेका हुन्।  ‘गाउँमा अहिलेसम्म मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्', पुर्चौडी–१ हाटका हर्क धानुकले भने, ‘मतदाता शिक्षा अभावमा बदर मत बढ्ने निश्चित छ।’ 

बैतडीमा एक सय ८२ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको निर्वाचन कार्यालयले जनाएको छ। अलगअलग मतपत्रमा मतदान गर्नुपर्ने भएपछि मतदाता अन्योलमा  छन्। मतदाता शिक्षाको कमीले प्रत्येक निर्वाचनमा बदर मतसंख्या घटेको छैन। गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक पुग्न नसक्दा यस्तो समस्या भएको हो। राजनीतिक दलका कार्यकर्तासमेत बदर हुने मतका कारण चिन्तित छन्।

राजनीतिक दलका कार्यकर्ताले प्रचारसँगै मतदाता शिक्षा दिँदै आएका छन्। तर दलका कार्यकर्ता आफ्नो पार्टीको चुनाव चिन्हमा मात्र मतदान गर्न सिकाउने गरेका छन्। 

स्थानीय तह निर्वाचनमा बैतडीमा दुई दशमलव ३५ प्रतिशत मत बदर भएको थियो। खसेका ८९ हजार सात सय ८१ मतमध्ये दुई हजार एक सय ११ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ।

सीमित संख्या जनशक्ति र भौगोलिक विकटता मुख्य चुनौती
पहिलो चरणमा निर्वाचन हुने बैतडीमा कात्तिक २६ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक गाउँ  पसेका छन्। सीमित संख्या जनशक्ति भएकाले भगौलिक कठिनाइका कारण पनि सबै गाउँमा पुग्न नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले स्वीकार गरे। बढीभन्दा बढी मतदातासम्म मतदाता शिक्षा पुर्‍याउन खोजिएको उनले बताए। ‘सकेसम्म अधिकतम नागरिकलाई मतदान प्रक्रियाका बारेमा सिकाउने प्रयत्न गरेका छौं,’ उनले भने, ‘मतदातालाई जहाँ भेट्यो त्यहीँ मतदान प्रक्रियाका बारेमा सिकाउन स्वयंसेवकलाई भनेका छौं।’

मतदाता शिक्षा स्वयंसेवक भने दुर्गम ठाउँमा नपुग्ने गरेको स्थानीयको गुनासो छ। ‘स्थानीय तह निर्वाचनमा पनि मतदाता शिक्षा स्वयंसेवक सबै ठाउँमा पुग्न सकेनन्, अहिले पनि छोटो समयमा सबै गाउँ बस्तीसम्म पुगेका छैनन्,’ दोगडाकेदार गाउँपालिका ८ का गणेशबहादुर विष्टले भने, ‘निरक्षर र वृद्ध मतदातालाई भोट हाल्न सकस हुने गरेको छ।’

निर्वाचन कार्यालयसँगको समन्यवमा अन्य संघसंस्थाले पनि मतदाता शिक्षा दिइरहेका छन्। तर उनीहरुले पनि कार्यक्रम सदरमुकाम केन्द्रित बनाएका छन्। आफूहरुसँग जनशक्ति कम भएकाले चार स्थानिय तहमा मतदाता स्वय‌सेवक खटाएको नेपाल राष्ट्रिय दलित समाज संघ बैतडीका संयोजक प्रेम चुनाराले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.