|

चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी हट्ने ठाउँ नै नरहेको बताएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कत्तिपनि भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरे।

शुक्रबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर १८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौं।’

दाहालले थपे,  ‘हामी पछाडिको पुल भत्काएर अघि बढेका छौँ, अब फर्कन खोजे डुबिन्छ।’ अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नरहेको जिकिर गर्दै दाहालले भने, ‘एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामु मुख देखाउन लाज हुन्छ।’

विस्तारै–विस्तारै काम गर्ने स्वभाव आफ्नो नभएकाले आँटेपछि अघि बढ्ने दुवैको नेताको चरित्र एउटै भएको उनको भनाइ थियो।  दुई पार्टीको बीचमा धेरै कुरा मिलिसकेको भन्दै उनले कार्यकर्तालाई विश्वास दिलाए।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्ने उल्लेख गर्दै दाहालले अब हिँड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समाजवादको बाटो हो भन्नेमा पनि एकमत भएको दाबी गरे।

साझा घोषणा पत्र र साझा उम्मेदवारको निकै ठूलो अर्थ रहेको समेत उनले बताए।  एमाले र माओवादीबीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल भएको उनको जिकिर थियो। हाम्रा सन्ततिहरुको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत संकीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्ताहरुलाई आग्रह गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.