|

पर्वत : प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बदर मतको संख्या घटाउन पर्वतमा सडक नाटक प्रदर्शन गर्न थालिएको छ। प्रभावकारी मतदाता शिक्षाको अभावमा मतदाताहरुले भोट हाल्दा बिगार्ने दरमा कमी ल्याउन जिल्ला निर्वाचन कार्यालय पर्वतको संयोजनमा सीड नेपाल, पर्वतले सडक नाटक प्रदर्शन गर्न सुरु गरेको हो।

दोस्रो चरणको चुनावको मिति नजिकिँदै गर्दा मतदातामा प्रभावकारी शिक्षा पुर्‍याउन सडक नाटक प्रदर्शन गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए। नाटकका माध्यमबाट दिइएको शिक्षा छिटो ग्रहण हुने र प्रभावकारी पनि हुने भएकोले सडक नाटकलाई मतदाता शिक्षाको माध्यम बनाइएको सीड नेपाल पर्वतले जनाएको छ।

नाटकमा मतदान प्रक्रियामा प्रयोग गरिने स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने तरिकाको बारेमा कलाकारहरुले प्रस्तुति दिने गरेका छन्। स्थानीय तहको निर्वाचनमा बदर मत संख्या बढी भएपछि बदर मत घटाउने उपायका रुपमा सडक नाटकलाई लिइएको हो।

सीड नेपाल पर्वतले जिल्लाको बिहादी, पैयुँ, महाशिला गाँउपालिका र फलेवास नगरपालिकाको विभिन्न ठाँउमा सडक नाटक देखाइसकेको छ। त्यस्तै अब कुश्मा नगरपालिका, मोदी र जलजला गाँउपालिकामा पनि सडक नाटक प्रदर्शन गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.