|

पर्वतः मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले गाउँ, शहर जताततै रौनक आएको छ। उम्मेदवारहरू प्रचार प्रसार र भोट माग्नका लागि गाउँगाउँमा पुग्दै सभा र सम्मेलन गरिरहेका छन्।

नेताहरूले मत त माग्छन्, तर भोट कसरी हाल्ने भनेर नसिकाएका कारण जनता भने अलमलमा छन्। निर्वाचनको कारण देशका अन्य जिल्लामा जस्तै पर्वत जिल्लालाई पनि दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको उत्सवले छोपेको छ। 

नेताहरूका चर्का भाषण र सम्बोधनका आवाज घन्किएको प्रशस्तै सुनिन्छ। भोट माग्नकै लागि उम्मेदवारहरू घर दैलोमा पुग्दा मतदाता पनि उत्साहित छन्। तर, मतपत्र कस्ता हुन्छन्? र मतदान कसरी गर्ने? भन्ने विषय थाहा नपाउँदा कतिपय मतदाताहरू अलमलमा परेका छन्। ‘खोइ, भोट माग्न त धेरै आएका छन्, हुन्छ, दिउँला भन्ने गरेकी छु, तर मलाई भोट हाल्नै आउँदैन’, पर्वतको फलेवास नगरपालिका– ४ मुडिकुवाकी इन्द्रकला  सापकोटाले भनिन्।

भोट माग्न आउने नेताले मतदानबारे नसिकाएको बताउँदै उनले नेताहरूले भोट मागे पनि यसरी हाल्नु, भित्र गएपछि यसोयसो गर्नुपर्छ भनेर कसैले नभनेको बताइन्। ‘जस्तो जान्दछु, त्यस्तै हाल्नुपर्ला। जानेको गर्ने त हो, सिकाउने को छ र?’, उनले भनिन्। 

मतदानबारे सापकोटा जस्तै जिल्लाका धेरैजसो निरक्षर मतदाताहरू द्विविधामा परेका पाइन्छ। पर्वतकै कुस्मा नगरपालिका– २ खुरकोटका डिलबहादुर केसी पनि मतदानका विषयमा अन्जान छन्। डिलबहादुर भन्छन्, ‘घर अगाडिबाट दिनदिनै नेताका गाडी दगुर्छन्। भोट माग्नेको लाइन छ, तर यसरी हो भोट हाल्ने भनेर कसैले भनेका छैनन्।’ भोट हाल्न के गर्ने हो भन्नेसमेत उनलाई थाहा छैन। ‘भोट हाल्न नि आउँदैन। भूकम्पले घर भत्कायो, बा तपाईंको घर यस्तो भएछ भनेर घर कसैले हेर्दैन’, उनको गुनासो छ। 

जनताका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन गरे पनि त्यसले मात्र नपुगेका कारण अघिल्ला निर्वाचनमा धेरै संख्यामा मतहरू बदर हुँदै आएका छन्। 

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी भन्छन्, ‘यो कुरामा मैले ध्यान दिन नसकेको रहेछु। अब पार्टी र कार्यकर्ता सबैलाई मतदाता शिक्षामा ध्यान दिन पनि अनुरोध गर्छु।’ हरेक पटकका निर्वाचनमा मतपत्रको स्वरूप र मतदान प्रक्रिया फेरिँदै आएका कारण पनि मतदातालाई समस्या भएको छ। मतदाता शिक्षाका लागि सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक विद्यालयका शिक्षकहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिएको छ।

जिल्लामा मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्वयंसेवकहरू परिचालन गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताए। यद्यपि, राजनीतिक दलहरूले पनि चुनाव प्रचारका बेलामा मतदाता शिक्षा दिन सकेमा बदर मतको संख्या घट्ने शर्माको भनाइ छ। ‘मत बदर भएमा राजनीतिक दलहरूले घरघर पुगेर मागेको मतको कुनै अर्थ रहने छैन‘, उनले भने, ‘बदर हुने मतको प्रतिशतमा कमी ल्याउन उम्मेदवारले मत माग्ने बेलामा नागरिकलाई मतदाता शिक्षा दिनु आवश्यक छ।’

जिल्ला निर्वाचन कार्यालयले पनि औपचारिकताका लागि मात्र नभई साँच्चिकै शिक्षा दिनेगरी मतदाता शिक्षा संचालन गर्नु आवश्यक भएको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.