|

काठमाडौं: बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको 'नेपाल चेम्बर एक्स्पो २०७४' सुरु भएको छ। कोरियासँगको साझेदारीमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्सपोमा आठवटा देशको सहभागिता रहेको छ।

नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र ब‌ंगलादेशका व्यापारीहरूले मेलामा स्टल राखेका छन्। २२५ वटा स्टलहरू रहेको मेलामा मंसिर १८ गतेसम्म पाँच दिन चल्नेछ। मेला तीन लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ।

के पाइन्छ मेलामा?

विशेषगरी मेलामा दैनिक उपभोग्य सामग्रीहरू रहेका छन्। जाडोको समयमा आयोजना गरिएको मेला भएका कारण जाडोमा आवश्‍यक पर्ने ज्याकेट, स्वेटरलगायतका उपयोगी सामग्रीहरू राखिएको छ। त्यस्तै मेलामा आठवटै देशले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान झल्काउने सामाग्रीहरू राखेका छन्।

मेलामा नेपालबाहेक सबैभन्दा बढी साझेदार देश कोरियाका २३ र थाइल्याण्डका १५ वटा स्टल रहेका छन्। नेपालका हस्तकलाका सामग्री, हर्वल सामग्री र खाद्य सामग्रीका स्टल उल्लेख्य छन्।

'मेलाले व्यापार प्रवर्द्धनमा सहयोग पुग्नेछ'

नेपाल चेम्बर अफ कमर्सले मेलाले नेपालको व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताएको छ। 'हामीले गरेको एक्स्पोले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनको आवश्‍यकतालाई सहयोग पुग्नेछ', नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने। उनले एक्स्पोले नेपाली उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने पनि बताए।

त्यस्तै, मेलाले निर्यात प्रवर्द्धनलाई सहयोग पुग्नुका साथै उपभोक्ताको रुचि अध्ययन गर्नसमेत सहयोग पुग्ने वाणिज्य सचिव चन्द्र घिमिरेको बुझाइ छ। उनले यस्ता प्रकारका एक्स्पोबाट नेपाली उत्पादनको प्रचारमा सहयोग पुग्ने र निर्यात व्यापार वृद्धि हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.