|

अनिल खत्री

गुल्मी : नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको लाइन काट्ने क्रममा एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवन र नेपाली कांग्रेस पार्टी कार्यालय वीपी स्मृति भवनको लाइन काटेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रममा दुई ठूला पार्टी कार्यालयको विद्युतको लाइन काटिएको हो। एमाले पार्टी कार्यालयले २३ हजार २ सय ४० रुपैयाँ र कांग्रेस पार्टी कार्यालयले १५ हजार विद्युत महसुल बाँकी बक्यौता नबुझाएपछि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख शंकर अर्यालले बताए। 

त्यस्तै, शिवशक्ति चलचित्र मन्दिरको पनि लाइन काटिएको छ। त्यसले २३ हजार ३ सय ३८ विद्युत महसुल बुझाउन बाँकी छ। प्राधिकरणको गुल्मी वितरण केन्द्रले अहिलेसम्म ४० जना ग्राहकको लाइन काटेको निमित्त कार्यालय प्रमुख अर्यालले बताए। पछिल्लो अभियान अन्तर्गत ३ दिनमा लाइन काटेर असुल उपर गर्नुपर्ने ३ लाख ८७ हजार ५ सय ५८ मध्ये २ लाख ७६ हजार ८ सय ३९ रुपैयाँ असुल गरेको वितरण केन्द्रले जनाएको छ। 

एक दिनमा १० जना ग्राहकको लाइन काट्ने र बाँकी बक्यौता असुल गर्नुपर्ने मन्त्रालयको निर्देशन आएको निमित्त प्रमुख अर्यालको भनाई छ। धेरै महसुल नबुझाउने स्वास्थ्य संस्था भएकाले अब अन्तिम पटक पत्र पठाएपछि लाइन काटिने समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.