|

सुर्खेत : जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनयुद्धका जेलब्रेकर बिन्दमान विष्ट र सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। वाम गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान र कांग्रेसका तर्फबाट तप्त उम्मेदवार छन्। विद्यार्थी राजनीतिमा सक्रिय रहेका बिन्दमान बिस्ट युवा नेताका रुपमा परिचित छन्, भने कांग्रेसका तप्तबहादुर बिस्ट २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नंबर ३ मा निर्वाचित सांसद हुन्।

संकटकालमा सुर्खेत जेलब्रेक गर्ने झकबहादुर मल्ल ‘सुदीप’, देवीराम देवकोटा ‘असिम’ र गणेश भण्डारी लगायत ३० जना कैदीबन्दी सहितको टोलीमा विन्दमान विस्ट पनि थिए।

अधुरा विकास पूरा गर्छु : तप्तबहादुर

मतदातासँगको घरदैलो, भेटघाट र चुनावी सभामा कांग्रेस उम्मेदवार तप्तबहादुरले जिल्लाको पश्चिम क्षेत्रमा भएका विकास निर्माणको जस लिने गरेका छन्।

आफू सांसद रहँदा आफ्नै पहलमा विकासको काम भएको भन्दै मतदातालाई आफ्नो पक्षमा पार्न खोजेका छन्। उनले आफूलाई ‘हेभिवेट’ उम्मेदवारको संज्ञा दिँदै पार्टीको तर्फबाट प्रदेश नंबर ६ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा पनि प्रस्तुत गरेका छन्। जिल्लाको पश्चिम क्षेत्रमा आफूले गरेका विकास निर्माणका कामलाई सम्पन्न गर्न पनि आफैले जित्नुपर्ने उनको दावी छ।

कर्णाली नदीमा ८ वटा पक्की पुल र २३ वटा झोलुंगे पुल निर्माण गरेको आफ्नो चुनावी प्रतिवद्धतामा उल्लेख गरेका छन्। राज्यमन्त्री विष्टले अन्तर जिल्ला जोड्ने सडक निर्माण, सुर्खेतमा फ्रि वाईफाई, प्रत्येक विद्यालयमा दुई वटा कम्प्युटर र सोलार वितरण गर्ने लगायतका एजेण्डा अघि सारेका छन्।

जनताका आधारभुत चाहना पूरा गर्छु : विन्दमान

यता विन्दमानले पश्चिम सुर्खेतका जनताका आधारभूत चाहना पुरा गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन्। पश्चिम सुर्खेतलाई आधुनिक शहरका रुपमा विकास गर्न चाहेको भन्दै विन्दमानले प्रदेश नंबर ६ को सम्भावित राजधानी भएर पनि पश्चिम सुर्खेत कर्णालीका जिल्ला जत्तिकै विकट रहेको पश्चिमको विकासका लागि आफुसँग स्पष्ट खाका रहेको दावी गर्दै आएका छन्।

विन्दमानले अन्तर जिल्ला जोड्ने सडकलाई नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै,  सुर्खेतसँग सीमा जोडिएका अछाम, कैलाली, बर्दिया, डोटी र दैलेख आवतजावतका लागि सहजताका लागि सडक विस्तार गर्ने बताए। भेरी र कर्णालीको पानीबाट विद्युत निकालेर पश्चिमका जनतालाई उज्यालोमा बस्ने वातावरण बनाउने योजना रहेको बिन्दमानले सुनाए। उनले पश्चिम सुर्खेतबाट सदरमुकाम सम्म २ लेनको बाटो, व्यवस्थित खानेपानी, चौकुने सिमेन्ट कारखानाको कामलाई तिव्रता दिने, ६ सय ८० मेगावाटको बेतान कर्णाली सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आफ्ना चुनावी एजेण्डाको प्राथमिकतामा राखेका छन्।

स्थानीय तहको मतमा वाम गठबन्धन अगाडि

४७ हजार मतदाता रहेको यस प्रदेश क्षेत्रमा चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा चौकुने एमाले र बराहताल र पञ्चपुरीमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। स्थानीय तहको मतअनुसार यो क्षेत्रमा वाम गठबन्धन अगाडि छ। यहाँ वाम गठबन्धनको १६ हजार ८ सय ६३ मत र कांग्रेसको १० हजार ६ सय ०५ मत रहेको छ। अहिले यस क्षेत्रमा २३ हजार ४ सय ५१ जना महिला र २३ हजार २२२ जना पुरुष गरी ४६ हजार ६ सय ७३ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.