|

बारा : बारा ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले चुनावका लागि आफ्नो १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। बारा सदरमुकाम कलैयामा शनिबार पत्रकार सम्मेलन गरी उनले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन्।

मन्त्री मन्सुरले कलैया अस्पताललाई सुविधा सम्पन्न बनाई डुमरवानामा ५० शैय्याको अस्पताल बनाउने, दुधौरा, बालगंगा र पसाह खोलामा पक्की तटबन्धको गुरुयोजना बनाउने, कलैया हाटबजारलाई समेत सुविधासम्पन्न बजारको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता मन्सुरले आफ्नो क्षेत्रको सबै माध्यमिक विद्यालयमा टेलिसेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले डुमरवाना, नयाँबस्ती लगायत क्षेत्र नं. ३ का सबै गाउँमा रहेका अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने र सुकुम्बासी आयोगबाट वितरण गरिएको लालपुर्जा चल्तीमा ल्याउने पनि प्रतिवद्धता जनाएका छन्।

त्यसैगरी मटिअर्वा छोटी भन्सारलाई भन्सारमा स्तरनोन्ति गर्ने, डुमरवाना र कलैयामा प्राविधिक शिक्षाका लागि क्याम्पस स्थापना गर्ने, कलैयाको सिद्धेश्वर मन्दिरलाई पर्यटकीय केन्द्र बनाउने, कलैयाको रामजानकी मन्दिर परिसरमा पार्क निर्माण गर्ने, रामराज क्याम्पस कलैया र डुमरवाना बहुमुखी क्याम्पसमा स्नातकसम्मको अध्ययनको व्यवस्था मिलाउने जनाएका छन्।

त्यस्तै दुधौरा खोलाको आमाटारमा पक्की पुल निमार्ण गर्ने र जितपुरदेखि फत्तेपुरसम्म पक्की सडक निमार्ण गर्ने जस्ता बुँदाहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। क्षेत्र नं. ३ का हरेक वडालाई सदरमुकामसँग जोडन पक्की सडक निर्माण, मानमत–मटिअर्वा कोरिडोरमा उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने, डुमरवाना बजारको निर्माण कार्य गर्ने, टाँगियाबस्तीको उचित व्यवस्थापन गर्ने, सिसहनिया–फेंटा पक्की सडक निमार्ण गर्ने, खपरताता–धर्मनगर पक्की सडक निमार्ण गर्ने सहितको १८ बुँदे प्रतिबद्धता पत्र उम्मेदवारहरुले सार्वजनिक गरेका हुन्।

धांधलीरहित निर्वाचनको लागि सरकार प्रतिबद्ध छ : मन्त्री मंसुर

मन्त्री मंसुरले शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले वाम गठबन्धन र मधेसकेन्द्रित दलको गठबन्धनले मुलुकमा जातीय सद्भाव खलबलाएको आरोप लगाउँदै मन्सुरले नेपाली कांग्रेसमात्र सबैलाई समेट्ने विकल्प रहेको बताए। उनले एमाले र माओवादी एक्लाएक्लै लडेर नेपाली कांग्रेसको सामना गर्न नसक्ने भएका कारण वाम गठबन्धन निर्माण गरेको धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.