|

बारा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाराका तीन जना नेता तेस्रो पटक जितेर चुनावमा ह्याट्रिक गर्ने रणनीतिमा छन्। यी तीनै नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, निवर्तमान सासंद राधेचन्द्र यादव र पूर्वसासंद उमाकान्त चौधरी तेस्रो पटक जित्ने योजनासाथ उम्मेदवार बनेका छन्।

त्यसैगरी दोस्रो पटक जित निकाल्ने दाउमा भने फोरम–राजपा गठबन्धनका दुई र वाम गठबन्धनका एक जना उम्मेदवार छन्। राजपा– फोरम गठबन्धबाट राजपा महामन्त्री जितेन्द्र सोनल र उपाध्यक्ष सरोज यादव छन्। त्यस्तै वाम गठबन्धनका माओवादी केन्द्रका शिवचन्द्र कुशवाह जित दोहोर्‍याउने दाउमा रहेका छन्।

बारा २ मा कांग्रेसबाट केन्द्रीय सदस्य राधेचन्द्र यादव तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्। उनी यसअघि २०५१ सालको मध्यावधि निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा बारा २ बाट निर्वाचित भएका थिए। सोही क्षेत्रमा वाम गठबन्धनका शिवचन्द्र कुशवाह पनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको नतिजा दोहोर्‍याउने दाउमा रहेका छन्। कुशवाह २०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि कुशवाह राजेन्द्र महतोको सद्भावना पार्टीबाट उम्मेदवार बने पनि पराजित भएका थिए।

कांग्रेसका केन्द्रीय सदस्य, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले पनि बाराबाट यसअघि दुई पटक चुनाव जितिसकेका छन्। २०५१ को मध्यावधि निर्वाचनमा बारा ४ र २०७० सालको संविधानसभा निर्वाचनमा बारा ३ बाट विजयी भएका उनी यसपटक बारा ३ बाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

२०५६ को आम निर्वाचनमा बारा १ बाट र २०६४ को संविधानसभा निर्वाचनमा बारा ५ बाट चुनाव जितेका कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले यसपटक भने बारा १ बाट उम्मेदवारी दिएका छन्। २०७० सालको संविधानसभाको निर्वाचनमा चौधरीलाई पराजित गर्ने एमालेका केन्द्रीय सदस्य बलवीर चौधरी समानुपातिक पद्धतितर्फ उम्मेदवार छन्। उमाकान्त प्रतिनिधिसभा सदस्यको लागि वाम गठबन्धका अच्युत मैनाली र फोरम–राजपा गठबन्धनका रामकिशोर यादवसँग चुनावी प्रतिस्पर्धामा छन्।

बारा १ (२)बाट प्रदेशसभा उम्मेदवार राजपाका उपाध्यक्ष सरोज यादव जित दोहोर्‍याउन चुनावी मैदानमा उत्रेका छन्। उनी यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा बारा १ बाट विजयी भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा उनी कांग्रेसका रामअयोध्याप्रसाद यादवसंग पराजित भएका थिए। त्यसैगरी बारा ४ बाट पहिलो संविधानसभा निर्वाचन जितेका राजपाका नेता जितेन्द्र सोनल जित दोहोर्‍याउन चुनावी मैदानमा छन्। यसपटक सोनल बारा ४ को (२) बाट प्रदेशसभाको लागि चुनावी मैदानमा उत्रेका छन्।

यसअघिका निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद बनेका दुई जना भने यसपटक बाराबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका निर्वतमान सासंद लालबाबु सिंह भुइयार यसपटक बारा ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् भने पूर्वराज्यमन्त्रीसमेत रहेकी ज्वाला साह यस पटक बारा ३ को (१) बाट प्रदेशसभाको लागि चुनावी मैदानमा उत्रेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.