|

रौतहट : मंसिर २१ गते हुने निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृतहरु आफ्नो तोकिएको केन्द्रमा पुगेका छन्। जिल्लाको २ सय ७७ स्थलको ४ सय ४९ मतदान केन्द्रमा सम्पूर्ण सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमपछि मंसिर १६ गते देखि नै निर्वाचन समाग्री वितरण गरिएको निर्वाचन कार्यालयका प्रमुख श्रीवास्तवले जानकारी दिए। मतपेटिका, मतपत्र, परिचयपत्र, स्वस्तिक छाप लगायतका विभिन्न ६४ प्रकारका निर्वाचन सामग्री केन्द्र केन्द्रमा पठाइएको छ। नयाँ बनाइएका परिचयपत्र वितरणको काम भने मंगलबारदेखि नै शुरु गरिने उनले बताए।

निर्वाचनलाई लक्षित गर्दै सोमबार राति १२ बजेपछि सीमा क्षेत्रको बोर्डर सिल भएको छ। २१ गते राति १२ बजेसम्मको लागि बोर्डर सिल गरिएको सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले जानकारी दिए।

निर्वाचनको मिति नजिकिंदै गर्दा रौतहटमा प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। निर्वाचनको समयमा खुला सिमानाका कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने हुनाले प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो। निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। सबै मतदान स्थलमासमेत सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ।

भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सीमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ। गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, बंकुल, मौलापुर लगायतका व्यापारिक र बजार क्षेत्रमा सुरक्षा सक्रियता बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.