|

संखुवासभा : संखुवासभामा मंसिर १० मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम तयारी भइरहेको छ। देशका ४५ जिल्लामा जारी मतदान सम्पन्न भएपछि साँझ ५ बजेबाट नै मतगणना सुरु गर्ने तयारी छ।

मतगणनाका लागि खटिएका कर्मचारी जालीभित्र र दलका प्रतिनिधि जालीबाहिर रहने गरी जिल्ला समन्वय समितिको सभा हलमा दुई कोठामा तारजाली लगाइएको छ। जिससमा हुने मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी पूरा भएको जनाउँदै बुधबार सर्वदलीय बैठकसमेत सम्पन्न गरेको छ। बैठकमा निर्वाचन आयोगद्वारा निर्देशित नियमावली, ऐन तथा निर्देशिकामा उल्लेख गरिएका व्यवस्था तथा मतगणना प्रक्रियाका विषयमा छलफल भएको थियो। सुरक्षित मतगणनाको लागि कार्यालयभित्र सिसी क्यामेरासमेत जडान गरिएको छ। मतगणनाको अन्तिम नतिजा आउन ५ दिन लाग्न सक्ने अधिकृत राउतले बताए।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मत गणना हुनेछ। संखुवासभामा– १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्य चयनका लागि ६९ हजार १ सय जनाले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.