|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा प्रतिनिधिसभा सदस्यमा संयुक्त वाम गठबन्धनका संयुक्त उम्मेदवार तथा एमाले नेता यज्ञराज सुनुवार विजयी भएका छन्। सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारे।

नेपाली कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माले ६ सय ६५ र संघीय समाजवादी फोरमलाई ५ सय ३४ मत प्राप्त भएको छ।

ओखलढुंगाको प्रदेशसभाअन्तर्गत क्षेत्र नं ‘क’ तर्फ पनि वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन्। अहिले प्रदेशसभा ‘ख’ को मतगणना जारी छ। यस क्षेत्रमा पनि वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार मोहन खड्का हिमशिखर झिनो मतले अघि रहेका छन्।

को हुन् यज्ञराज सुनुवार?

आमा मनमाया सुनुवार र बुबा मानबहादुर सुनुवारका कान्छा छोराका रुपमा यज्ञराजको जन्म वि.स.२०२९ साल कात्तिक ३ गते ओखलढुंगाको श्रीचौर २ लिस्पुमा भएको हो। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।

सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गरेर २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त वाम मोर्चा, ओखलढुंगाको इलाका सचिव रहेर काम गरेका थिए। २०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंमा स्ववियु सभापति बनेका सुनुवार २०५७ सालमा महेन्द्र रत्न कलेज, तहाचलको पनि स्ववियु सभापति भएका थिए।

२०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभासद्, २०५८ देखि २०६० सालसम्म स्ववियु काउन्सिलको पनि संयोजक रहेर काम गरे। २०६१ माघ १९ मा काठमाडौंमा तत्कालीन राजा ज्ञानेन्द्रको कदमको विरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल वैशाखमा रिहा भए।

२०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट चुनाव लडेका सुनुवार तत्कालीन माओवादीका केशव राईसँग पराजित भएका थिए। ०६४ मा जिल्लामा नेकपा एमाले तेस्रो भएको थियो।

त्यसपछि संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र ओखलढुंगा १, बाट १२९४३ मत प्राप्त गरी विजयी भएका सुनुवार संविधानसभामा खेलेको भूमिकाले चर्चामा रहे। उनी हाल नेकपा एमाले, केन्द्रीय कमिटी सदस्य छन्।

सांसद भएपछि जिल्लामा सुनुवारका योगदान 

संविधानसभा सदस्य निर्वाचनमा भोट माग्न जाँदा यज्ञराज सुनुवारले कुनै विकास निर्माणका असम्भव सपना नबाँडी मतदातासँग उनी भन्थे,  ‘मत दिएर जिताउनुहोस्, यस अघिका सांसदहरु जस्तो संविधान नबनाई फर्केर आउदिनँ, विकास निर्माणमा सकेको योगदान गर्छु मलाई भेट्न सिंहदबार आउनु पर्दैन।’

संविधान निर्माणमा उनले गरेको योगदानका अतिरिक्त गाउँलाई जिल्लासम्म सडक सञ्जालमा जोड्न महत्वपूर्ण योगदान गरे। रुम्जाटारको विमानस्थल कालोपत्रे, ओखलढुंगा–रुम्जाटार, रामपुर–ओखलढुंगा सडक कालोपत्रेको काम सुरु गराउन सफल भएका छन्।

ओखलढुंगा–श्रीचौर सडक, साँघुटार–ओखलढुंगा–सिलौरीघाट सडक कालोपत्रे गर्न बजेट विनियोजन गर्न सफल, मोलुङ एकवार, दूधकोसी एकवार सडक निर्माणमा बजेट विनियोजन गराएर जिल्लावासीको मनमा बस्न सफल बनेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.