|

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवं प्रभावशाली नेता अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट विजय भएर ह्याट्रिक गरेका छन्। ०६४ र ०७० मा भएको निर्वाचनमा विजयी भएका सापकोटाले यसपटकको निर्वाचनमा विजय हुँदै ह्याट्रिक गरेका हुन्। हालका सूचना सञ्चार मन्त्रीसमेत रहेका कांग्रेस नेता मोहन बस्नेतलाई  हराउँदै ह्याट्रिक गरेका सापकोटाले ४० हजार ५ सय ४ मत प्राप्त गरे।

उनका प्रतिस्पर्धी बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरे। विजयपछि कार्यकर्ता र जनतामाझ खुसी मनाइरहेका सापकोटाले सिन्धुपाल्चोकवासीका मागहरु पूरा गर्ने वचन व्यक्त गरे। सापकोटाले जनताको अमूल्य मतलाई आपूmले उच्च सम्मान गर्दै जनतासँग आफूले गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने वचन दिएका छन्। यिनै विषयमा सापकोटासँग रेडियो थाहा सञ्‍चारका लागि देवीराम देवकोटाले गरेको संक्षिप्त कुराकानी :

३ पटक जिताएर सिन्धुपाल्चोकका जनताले तपाईप्रति आशा र विश्वास व्यक्त गरेका छन् उनीहरुलाई तपाईं के भन्नुहुन्छ?

सबै मतदाताप्रति म सम्मान गर्छु र सबै मतदाताप्रति म शिर झुकाउँछु। म सबै मतदातालाई के विश्वास दिलाउँछु भने म घात गर्नेछैन। मतदाताले जुन तरिकाले मलाई मत दिएर सहयोग गर्नुभयो, मलाई जिताउनुभयो। यो उहाँको विश्वास पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मतदाताको इच्छा आकांक्षा पूरा गर्नका लागि मेरो बुद्धि विवेक र क्षमताले भ्याएसम्म लागि पर्नेछु। 

चुनावअघि गरेका प्रतिबद्धता पूरा गर्नेमा जनतालाई कसरी विश्वास गराउनुहुन्छ?

हो निश्चय नै मैले चुनावका वेला गरेका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छु। मूल्य मान्यता, आदर्श, सिद्धान्त, दर्शनको खडेरी परेको वेलामा मलाई जिताउनुभएको छ। म आदर्शलाई मूल्य मान्यतालाई आत्मसाथ गर्ने मान्छेलाई जिताउनुभएको छ। यसमा मबाट कमजोरी हुनेछैन। मबाट घात हुनेछैन। सिन्धुवासी दिदीबहिनी तथा दाजुभाइ त्यसमा पनि क्षेत्र नम्बर १ का मतदतालाई विशेष हार्दिक आभार व्यक्त गर्दछु।

चुनावका वेला तपार्इंले के के प्रतिबद्धता गर्नुभएको थियो?

तातोपानी नाका खुलाउने प्रतिबद्धता व्यक्त गरेको थियो। बाह्रबीसेलाई ट्रान्जिट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता गरेको थिएँ। पर्यटन, खनिज, जडीबुटी  र जलस्रोतको सदुपयोग गरेर मैले सिन्धुपाल्चोकलाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ। त्यसैगरी, प्रत्येक गाउँमा सडकको पूर्वाधार खडा गर्ने  मेरो प्रतिबद्धता थियो। त्यो पूरा गर्ने वाचा गर्दछु।

 यी प्रतिबद्धता कसरी पूरा गर्न कत्तिको चुनौती छन्?

छैनन् मलाई त्यस्तो  लाग्दैन। चुनौतीको साथसाथै अवसर पनि छ। म चुनौतीलाई सामना गर्दै अवसरको खोजीमा हुनेछ। मलाई अवसरका रुपमा पनि मतदाताले मत दिएर बलियो साथ देखाइसक्नुभएको छ। त्यसैले मलाई बलियो साथ प्राप्त भएकाले प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन। मेरा पछाडि त्यो पूरा गर्ने थुप्रै आधारहरु छन्।

अन्तमा अहिलेको नतिजालाई तपार्ईंले कसरी लिनुभएको छ?

वाम गठबन्धन गरेर पार्टी एकता गर्ने दुई पार्टीका अध्यक्षले गरेको निर्णयलाई जनताले अनुमोदन गरेका छन्। यो कार्यकर्ता र पार्टी एक होस् भन्ने चाहना हामी कम्युनिस्टहरुले अब चुनावपछि पूरा गर्नैपर्छ। यहाँ दुवै पार्टीका कार्यकर्ता र जनताले कम्युनिस्टहरु एक हुन् भन्ने चाहना व्यक्त गरेका छन्। नेपालमा अब वाम गठबन्धन मात्र होइन एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने कुरालाई जनताको मतले अनुमोदन गरेको रुपमा लिएको छु। यो स्वाभाविक, अपेक्षित थियो। त्यही भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.