|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेकपा मालेले पुन मतगणनाको माग गर्दै मतगणना बहिस्कार गरेको छ। निर्वाचन अधिकृतको हस्ताक्षर नमिलेको, मुचुल्का भन्दा बढी मत भेटिएको कारण देखाउँदै कांग्रेस र मालेले काठमाडौं बानेश्वरको सहकारी विभागमा भइरहेको मतगणना बहिस्कार गरेको हो।

मतदान अधिकृतको चार थरी हस्ताक्षरको मुचुल्का उठाएकोमा पाँच थरी हस्ताक्षर भेटिएको भन्दै कांग्रेस र मालेले पुन मतगणनाको माग गरेको हो। कांग्रेस र मालेले विष्णुपादुका मन्दिर क, नारायणथान सत्तल क, गुठीघर क, युनिभर्सल स्कुल क र सरस्वती मन्दिर क मतदान केन्द्रको पुन मतगणना गर्नुपर्ने माग गरेको हो।

नेपाली कांग्रेसका मतगणना प्रतिनिधि उत्तम पाठक र नेकपा मालेका अनिल खनालले पुन मतगणनाको माग गर्दै उजुरी दिएका हुन्।

शुक्रबार मुचुल्का भन्दा १२ मत बढी भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको थियो। तर ती बढी मत पनि गन्ने सहमति भएपछि शनिबार विहान ९ बजेदेखि मतगणना सुरु भएको थियो। यस क्षेत्रका कांग्रेस उम्मेदवार नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूहरुले मतपत्र हेर्न पाउनुपर्ने माग राख्दाखेरि नदिइएकोले बहिष्कार गर्नुपरेको बताए। 'हामीले मतपत्र हेर्न पाएनौ त्यसैले बहिष्कार गर्दैछौं', उनले भने। काठमाडौं ५ मा महतसँग नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.