|

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली कांग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिएका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाएका छन्। चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन्।

उनले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गरेका थिए। यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली कांग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।

यता कांग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन्।

शनिबार साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा कांग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहेका छन्। यो क्षेत्रमा खसेको कूल मतको ५० प्रतिशत मतगणना भइसकेको छ। झण्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ। यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा कांग्रेसका डिल्लीराज पन्त अगाडि रहेका छन्।

कैलाली निर्वाचन क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा 

यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतगणनामा कांग्रेसका उम्मेदवार एवं पूर्वसांसद मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहेका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि परेका छन्।

हालै मात्र एमालेबाट कांग्रेस प्रवेश गरेर टिकट पाएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाएका छन्। निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उहाँलाई पछ्याइरहेका छन्। पूर्वमन्त्रीसमेत रहेका यी दुवै जनाबीच कडा टक्कर रहेको छ। 

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली कांग्रेसका सुनीलकुमार भण्डारीले छ हजार ४४६ मत प्राप्त गरेका छन्। यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.