|

  • भोजराज कार्की-

 सोलुखुम्बु : सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई फराकिलो मतान्तरले पछि पार्दै वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमकुमार राई (शुरवीर) विजयी भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीलाई ३ हजार १ सय ६७ मतान्तरले पछि पार्दै हेमकुमारले जितेका छन्। हेमकुमारले २० हजार ९ सय १२ मत पाप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बलबहादुरले १७ हजार ७४५ मत प्रप्त गरे।

०६४ सालको संविधानसभाको निर्वाचनबाहेक कहिल्यै पराजय नभोगेका पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको विरासत पूर्वजनमुक्ति सेनाका बिग्रेड कमान्डर एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमकुमार राईले तोडिदिएका छन्।

कांग्रेसले सोलुखुम्बुलाई आफ्नो पकड क्षेत्र मान्छ। तीनपटक मन्त्री बनेका बलबहादुरलाई पहिलोपटक लोकतान्त्रिक पद्धतीमा उम्मेदवार बनेका हेमकुमारले फाराकिलो मत अन्तरले जितेका छन्।

 पूर्वमन्त्री बलबहादुरको विरासत तोड्ने हेमकुमार को हुन्?

हेमकुमार राई (सुरवीर)को जन्म २०४० साल पुस १५ गते सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ४ नेचामा भएको हो। बाबा नरध्वज राई र आमा स्व. मुगाधनी राईको कोखबाट कान्छो छोराको रुपमा जन्म लिएका हेमकुमारले कक्षा १२ उत्तीर्ण गरेका छन्।

नेचाको जालपा प्राविबाट प्राथमिक शिक्षा, नेचाकै केदार माध्यमिक विद्यालयबाट कक्षा ९ र २०५६ सालमा तत्कालीन सिन्धुली उच्च माविबाट कक्षा १२ सम्मको शिक्षा हासिल गरेका हुन्।

हेमकुमार २०५६ सालबाट तात्कालीन माओवादीको भूमिगत कार्यकर्ता भएर हिँडेका थिए। तात्कालीन माओवादीका पूर्वाञ्चलकै एकमात्र सफल ब्रिगेड कमान्डर मानिन्थ्यो। उनका सहयोद्धा गोम्बु शेर्पा कज्याङले भने, ‘उहाँलाई युद्धकालीन समयदेखि नै बफादार, कर्मनिष्ठ र शहासिक कमान्डरको रुपमा तत्कालीन हाम्रो पार्टीले लिएको थियो।’

 वि.स.२०५८ सालमा दोलखाको मैना पोखरी, सोलुखुम्बुको सल्लेरी, सिन्धुपाल्चोकको काभ्रे, भकुन्डेबेसी, संखुवासभा लगायतका युद्धमा सफल कमान्डरको रुपमा नेतृत्व गरेर सफल भएको हेमकुमारको दाबी छ। युद्वकालीन समयमा दर्जनौँ युद्वमा सहभागी र हजारौँ लडाकुको कमान्डिङ गर्दै लडेको उनको भनाइ छ।

मोर्चा फिल्ड कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर हुँदै ब्रिगेड कमान्डर सम्मको जिम्मेवारी सम्हालेका हेमकुमारले २०६८ सालको सेना समायोजनपश्चात स्वैच्छिक रूपमा राजनीतिक क्षेत्र रोजेका थिए।

२०५९ सालमा सगरमाथा ब्युरो सचिवालय सदस्यको जिम्मेवारी लिएका हेमकुमार २०७० सालदेखि हालसम्म पार्टीको जिल्ला इन्चार्ज छन्। भने २०७३ सालदेखि नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी सह्माल्दै आएका छन्।

कस्ता थिए उनका निकटतम प्रतिद्वन्द्वी बलबहादुर?

वि.सं २०१० साल असार १३ गते हाल नेचा सल्यान गाउँपालिका १ सल्यानमा जन्मिएका केसी विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा क्रियाशील छन्। जिल्लाकै जीवन ज्योति मावि नेलेबाट एसएलसी पास गरेका केसीले महेन्द्र रत्न क्याम्पस ताहचल काठमाडौंबाट स्नातक तह र कीर्तिपुर विश्व विद्यालयबाट स्नात्तकोतर तह उत्तीर्ण गरेका छन्।

उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै भएको छ। वि.सं २०२७ साल नेपाल विद्यार्थी संघको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका केसीलाई २०४८ सालयता निरन्तर पार्टीले उम्मेदवार बनाएको छ। सोलुखुम्बुका जनताले केसीलाई वि.सं २०४८, २०५१, २०५६ र २०७० सालको निर्वाचनमा निर्वाचित बनाएका थिए।

२०४९ सालदेखि हालसम्म पनि केसी कांग्रेसका केन्द्रीय सदस्य हुन्। केसी २०५२ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री, २०५६ मा श्रम तथ रोजगार मन्त्री, र २०५८ मा पर्यटन मन्त्री बनिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.