|

रामेछाप :  रामेछापबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ विजयी भएका छन्। कांग्रेसका पुर्णबहादुर तामाङ  कान्छारामलाई ६ हजार ३ सय ४६ मतान्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन्। कुल ८९ हजार ५ सय ८७ मत खसेकोमा श्रेष्ठले ४२ हजार १ सय १७ र तामाङले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।

जिल्लाबाट प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा 'क' मा एमालेकी शान्ति पौडेलले १९ हजार ९ सय ३५ मत ल्याइ विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रत्न कार्की १३ हजार ६ सय ५ मत प्राप्त गरे। प्रदेश 'ख' मा एमालेका कैलाश ढुङ्गेल २६ हजार ९ सय ३५ मतसहित विजयी भए भने काङ्ग्रेसका जितबहादुर मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरे।

को हुन् श्यामकुमार श्रेष्ठ?

मन्थली नगरपालिका ११ गेलु नाटीलामा २०२९ साल पुस २८ गते जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा भारतमा लिए। भारतबाट नेपाल फर्किएपछि कक्षा पाँचसम्म गाउँकै प्राथामिक विद्यालयमा अध्ययन गरेका उनले भीमेश्वर माविबाट एसएसलसी पास गरे। एसएलसी पास गरेर अध्ययनको लागि राजधानी छिरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोतर तहसम्मको अध्ययन गरेका छन्। अर्धभूमिगत रुपमा कम्युनिष्ट राजनीति सुरु गरेका उनी माओवादी जनयुद्धमा २०५७ सालमा पूर्णकालिन राजनीतिमा लागे।

राजनीतिक जिम्मेवारी

जनयुद्धमा रामेछाप काभ्रे अन्तर्गतको ८ नम्बर इलाका पार्टीको सेक्रेटरीको रामेछाप जिल्लाको जातीय तथा क्षेत्रीय मोर्चाको फ्याक्सन इन्चार्ज भएका उनी जिल्लास्तरको सैन्य राजनीतिक कमिसार थिए। २०६० माघदेखि तत्कालीन माओवादीको जिल्ला सेक्रेटरी हुदै उनले पार्टीको प्राविधिक युनिटको प्रमुखको रुपमा पनि काम गरे। तत्कालिन नेकपा (माओवादी)को चुनुवाङ बैठकपछि विशेष केन्द्रीय कमाण्ड कार्यालयको सचिव, २०६६ मा पुनः रामेछाप जिल्ला पार्टीको सेक्रेटरी, २०६८ सालदेखि रामेछाप पार्टीको संगठन विभागको प्रमुख, २०७२ मा पार्टीको केन्द्रीय सदस्य र २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य भए।

 'म माथि हजारौ राउण्ड गोली बर्साइएको थियो। गोलीको कारण सल्लाको रुखको फक्लेटा निस्किएको स्मरण छ उनमा, तर पनि ज्यान बचाउन सफल भए। त्यस दिन कुहिरो नलागेको भए बाच्ने कुनै आश नै थिएन। अहिले सम्झिन्छु,प्रकृतिले पनि कहिलेकाही साथ दिदो रहेछ जस्तो लाग्छ' उनले जनयुद्धको स्मरण गरे। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन रामेछाप २ बाट निर्वाचित भएका उनी हाल विना विभागीय राज्यमन्त्री छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.