|

उदयपुरः २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं.– २ मा पराजित सुरेशकुमार राई हिमाल अहिले विजेता बनेका छन्। आइतबारबाट उजी नयाँ सांसद बनेका छन्।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका राईलाई ०७४ मंसिर २१ गते भएको निर्वाचनले नयाँ सांसद बनाएको हो।

राई एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उदयपुर– २ मा उम्मेदवार बनेका थिए। अहिले राई विजय उत्सव मनाइरहेका छन्। राईले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व सांसद नारायणबहादुर कार्कीलाई सात हजार ९६ मतले पराजित गरे।

विजयी राईले २२ हजार ५५१ मत पाए भने उनका प्रतिद्वन्द्वी कार्कीले १५ हजार ४५५ मत मात्र ल्याए। राईको क्षेत्रमा पर्ने प्रदेशसभा ‘क’मा पनि माओवादी केन्द्रका स्वतन्त्र उम्मेदवार बनेका नारायणबहादुर मगर विजयी भए। 

यस्तै, प्रदेशसभा ‘ख’मा एमालेकी कला घले विष्टले १३  हजार ४५६ मत ल्याएर राईसँगै प्रदेश सांसद बनिन्। यस क्षेत्रमा एमाले–माओवादी गठबन्धनले राईको नेतृत्वमा कांग्रेसलाई ‘क्लिन स्विप’ गर्‍यो।

को हुन् राई?
वाम गठबन्धनबाट विजयी बनेका राई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। उनको वास्ताविक नाम सुरेशकुमार राई रहे पनि पार्टीमा उनी हिमाल भनेर चिनिन्छन्। 

उदयपुरको रामपुरका स्थायी बासिन्दा हुन् राई। उनको जन्म २०३२ साल माघ २२ गते उदयपुरको रामपुर ठोक्सिलामा भएको हो। उनले स्नातक तहसम्म अध्ययन गरेका छन्। २०४८ सालमा अखिलको प्रारम्भिक कमिटीको सदस्यता लिँदै उनी राजनीतिमा प्रवेश गरेका हुन्। त्यसको एक वर्ष नपुग्दै २०४९ सालमा खम्बुवान मुक्ति मोर्चाको सदस्यता लिए। 

२०५३ सालमा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको क्षेत्रीय सदस्य भएका राई २०५५ सालमा खम्वुवानले माओवादीसँग संयुक्त मोर्चा बनाएर जनयुद्धमा लागेपछि माओवादी जनयुद्धको कमाण्डर बनेर लागे। राईले जनयुद्धको बेला विभिन्न लडाइँका मोर्चा सम्हालेको अनुभव पनि बटुलेका छन्।

राई २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बने। राईले त्यही वर्ष क्षेत्रीय इन्चार्ज र पूर्वी कमाण्डको जिम्मेवारी पनि पाए। शान्ति प्रक्रियामा आएपछि निरन्तर रूपमा उदयपुरको राजनीतिमा सक्रिय भूमिकामा रहे उनी। ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पार्टीलाई चुनाव जिताउने कमाण्डरसमेत कहलिए। ०६४ सालमा तीन निर्वाचन क्षेत्र रहेको उदयपुरमा तत्कालीन माओवादीलाई दुई निर्वाचन क्षेत्रमा जिताए। 

दोस्रो पटक २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं.– २ बाट उम्मेदवार बनेका थिए राई तर पराजित भए। राई पराजित भएको क्षेत्रमा एमालेले जितेको थियो। अहिले त्यही एमालेको साथ, सहयोग र बलमा उदयपुर– २ बाट उनी प्रतिनिधिसभा सदस्य बनेका छन्।

यस्ता छन् राईका आगामी योजना
वाम गठबन्धनबाट नवनिर्वाचित राईले आगमी पाँच वर्ष आफू निर्वाचित क्षेत्र नं.– २ मा आमूल परिवर्तन ल्याउने बताएका छन्। उनले गाँउपालिका र नगरपालिकाका सबै वडाहरूमा शिक्षा, स्वास्थ्य, रोजगार, विद्युत, खानेपानी, पक्की रोड पुर्‍याउने अठोट लिएको बताएका छन्। ‘मैले जनतासँग जुन योजना ल्याएको छु, त्यो पूरा गरेर देखाउनेछु’, राईले भने।

यस क्षेत्रमा जनतासँग गरेका सकै वाचा पूरा गर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ। राईको विशेष योजनमा यस निर्वाचन क्षेत्रमा पर्ने तावा, कमला, ककुर खोलालगायतका ठूला नदी नियत्रन्त्रण गर्न गुरुयोजना बनाउनु छ। बेतेनी भञ्ज्याङ, उदयपुरगढी, रौता, माझखर्क क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन आधारभूत पूर्वाधार तयारी थाल्नु पनि उनको विशेष योजनाभित्र पर्छ।

यस क्षेत्रमा रहेका कृषि क्षेत्रको बाली उत्पादन हेरेर पकेट क्षेत्रको विकास गर्दै जाने, सुन्तला जोन र अदुवाको पकेट क्षेत्रलाई व्यवस्थित बनाउने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न कृषिलाई जोड दिने उनको योजना छ। 

पहाडी क्षेत्रमा निर्माण भएका ग्रामिण कृषि सडकलाई पक्की रोड बनाउने र यस क्षेत्रमा सबै गाउँपालिका र नगरपालिकाका वडामा धुले सडक निर्माण भएका र त्यसलाई स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय गरी व्यवस्थित बनाउने उनले आफ्नो जिम्मेवारी ठानेका छन्।

देशमा वामपन्थीले दुई तिहाई ल्याएर सरकार बनाए जनताको धेरै काम गर्न सकिने राईको भनाइ छ। तीनै तहका सरकारबाट विकास निर्माणका एकीकृत योजना निर्माण गर्ने राईको योजना छ। ‘यस क्षेत्रमा मैले वाचा गरेका जनता कुरा सबै पूरा गर्नेछु’, राईले भने, ‘आर्थिक समृद्धिको राष्ट्रिय अभियान सुरु गर्न मलाई भोट दिएका हुन्।’

आफ्नैको साथ नपाएका कार्की
राईका प्रतिद्वन्द्वी कांग्रेसका नारायणबहादुर कार्कीले कांग्रेसकै साथ पाएनन्। विशेष गरेर कार्कीलाई हराउन कांग्रेस उदयपुरका जिल्ला सचिव रामकुमार राई वाम गठबन्धनमा प्रवेश गरे। चुनाव प्रचार प्रसारमा हिँडेको बेला विद्युतीय एम्बुसमा परेर गम्भीर घाइते भएका कार्की अहिले काठमाडौंमा उपचार गराइरहेका छन्। उपचारका लागि अस्पतालमा रहेका कार्कीले आफ्नो मतसमेत हाल्न पाएनन्। 

सचिव रामकुमार राई वाम गठबन्धनमा प्रवेश गरेपछि उदयपुरमा कांग्रेस दुई धारमा विभाजित भयो। सोही क्षेत्रबाट उम्मेदवार बन्ने टिकट नपाएको झोँकमा जिल्ला सचिव राईले यसै क्षेत्रका कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की हराउ अभियानसमेत चलाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.