कांग्रेसका ८० भन्दा बढी उम्मेदवार निकटतम प्रतिस्पर्धी

|

काठमाडौं​ : प्रतिनिधिसभातर्फ आइतबार साँझ ११४ स्थानको नतिजा सार्वजनिक हुँदा नेकपा एमाले ६५ स्थानमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र २४ स्थानमा विजयी भएको छ। नेपाली कांग्रेसले भने जम्मा १३ स्थानमा मात्र जित हासिल गरेको छ। 

एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलले जित हासिल गरेको धेरैजसो ठाउँमा कांग्रेस उम्मेदवार दोस्रो स्थानमा रहेका छन्। हामीले समाचार तयार पार्दासम्म एमालेका ६५, माओवादी केन्द्रका २४, कांग्रेसका उम्मेदवार १३ स्थानमा विजयी भएका छन्। त्यस्तै, संघीय समाजवादी फोरमका उम्मेदवार ४, राजपा नेपालका ५, नयाँ शक्ति पार्टी नेपालका१ र स्वतन्त्र १ उम्मेदवार विजयी भएका छन्। 

यो नतिजा प्राप्‍त हुँदासम्म कांग्रेसले ८० भन्दा बढी स्थानमा निकटतम प्रतिस्पर्धी स्थान कायम गरेको छ। कांग्रेस विजयी भएका स्थानमा भने वाम गठबन्धन र मधेस केन्द्रित दल निकटतम प्रतिस्पर्धी रहेका छन्।

यी हुन् एक हजार कम मतान्तरले हार्ने ५ उम्मेदवार

कांग्रेसका धेरै उम्मेदवारहरू पाँचदेखि १० हजार मतले हार्दै गर्दा केही उम्मेदवारले भने थोरै मतको कारण पराजय व्यहोरेका छन्। काठमाडौं- ८ बाट नवीन्द्रराज जोशी, मोरङ- ६ बाट डा. शेखर कोइराला, मुस्ताङका रोमी गौचन थकाली, मनाङका टेकबहादुर गुरुङ र कपिलवस्तु- १ का दीपकुमार उपाध्‍यायले एक हजार भन्दा कम मतले पराजित भए। 

कसले कति मतले हारे?

मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ एमालेका पोल्देन छोपाङ गुरुङसँग २७९ मतले पराजित भए। एमालेका पोल्देनछोपाङ गुरुङले दुई हजार ३०० र टेकबहादुरले दुई हजार १२३ मत ल्याए।

मुस्ताङमा कांग्रेसका रोमी गौचन थकाली ३६३ मतले पराजित भए। एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले तीन हजार ५४४ मत ल्याउँदा गौचनले तीन १८४ मत प्राप्त गरे। मोरङ- ६ का उम्मेदवार डा. शेखर कोइराला ६७५ मतले पराजित भएका। एमाले उम्मेदवार लालबाबु पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै, काठमाडौं- ८ का उम्मेदवार नवीन्द्रराज जोशी ४४४ मतान्तरले पराजित भए। उनले १२ हजार ९५३ मत प्राप्‍त गर्दा विजयी भएका एमाले उम्मेदवार जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गरे।

कपिलवस्तुमा दीपकुमार उपाध्यायले विजेता उम्मेदवारको तुलनामा ९४६ मत कम ल्याए। उनले २८ हजार ८५३ मत प्राप्त गर्दा विजेता चक्रपाणि खनालले २९ हजार ७९९ मत प्राप्‍त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.