|

रूपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसको नेतृत्व असफल भएको बताएका छन्। 

नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै युवा नेता भण्डारीले भने, ‘सुशील कोइराला दोस्रो पटक प्रधानमन्त्रीका लागि चुनाव लडेदेखि नै हाम्रो पार्टीमा समस्या आएको थियो, मैले पटक पटक भन्दा पनि सुनिएन, त्यसको प्रतिफल चुनावमा भोग्नुपर्‍यो।’ 

उनले भारतले गरेको नाकाबन्दीदेखि नै कांग्रेसले जनतामाझ लोकप्रिय एजेन्डा लैजान नसकेको भन्दै चुनावमा नराम्रो पराजय भोग्नुपरेको बताए। ‘मैले उतिबेलै भनेको थिएँ, केन्द्रीय समितिमा पनि कुरा उठाएको थिएँ, हामी जनताका एजेन्डाहरू लिएर जनतामाझ जाऔँ, हाम्रा राम्रा कामको प्रचार गरौँ’, उनले भने, ‘ती कुरा सुनिएनन्, अहिले यो अवस्था आउँछ भन्ने पूर्वानुमान थियो।’

अन्तर्राष्ट्रिय प्रजातान्त्रिक संस्कारमा हारपछि नेतृत्वले राजीनामा दिनुपर्ने भन्दै कांग्रेसभित्र पनि नेतृत्वले त्यसलाई पालना गर्नुपर्ने बताए। ‘असफल भएपछि पनि पदमै बसिरहन सुहाउँदैन’, उनले भने, ‘पार्टी नेतृत्वले यसको बारेमा सोच्नुपर्छ, केन्द्रीय समितिमा म पनि रहेकाले म पनि त्यसको भागिदार छु, मैले पनि सुधार्नुपर्छ।’ 
दलाली राजनीति छोडेर देश र धरातलको रूपअनुसारको राजनीति गर्न पनि उनले सुझाए।  

अहिलेको अवस्थामा कुनै पनि दलका पुरानै नेताबाट नेपाल आर्थिक समृद्धिको मुद्धामा सफल हुन नसक्ने भन्दै परिवर्तनका लागि सबै दलको नेतृत्व युवा पुस्ताले लिनुपर्ने संकेत गरे।

एमाले–माओवादीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे वाम सरकारको आयु निकै छोटो हुने चेतावनी पनि उनले दिए। ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन, अब नयाँ शिराबाट पार्टी अघि बढ्छ’, उनले भने।

बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गरेमा स्थिर सरकार होइन, वाम गठबन्धनको सरकारको आयु १८ महिनामै सकिने उनको दाबी थियो।

नेता भण्डारीले नेपाली समाजमा बढी राजनीतीकरण गर्ने रोग लागेको र यसको सही उपचारका रूपमा विकासको इन्जेक्सनलाई आफूले चुनावमा प्रयोग गर्दा पूरै फेल भएको बताए। ‘मैले समाजलाई विकास रोज्छ भन्ने दृष्टिबाट बुझिरहेको थिएँ, तर त्यो त गलत सावित भयो’, उनले भने, ‘मैले विकासकै आवश्यकता हो र त्यो पूरा गर्नुपर्छ भनेर लागिरहेँ, तर सबैतिर राजनीति भएको रहेछ, कसैलाई पनि विकासको इन्जेक्सनले काम गरेन।’ 

गुल्मीमा ०७० सालबाट अहिलेसम्म ४२ वटा पुल, ७३ सडक आयोजना, ९३ वटा खानेपानी आयोजना, स्वस्थ्य सेवा जस्ता विकासको लहर ल्याएको बताउँदै आफूले त्यसको प्रचार नगरेको उनले प्रष्ट्याए। 

‘मुलुकमा धेरै राजनीति भयो, राजनीतिको रोगलाई विकासबाहेक कुनै एन्टिबायोटिकले निको पार्न सक्दैन’, उनले भने, ‘गुल्मीमा २०७० पछि मैले गरेको विकासको इन्जेक्सनलाई अतिराजनीतिले जित्यो।’ 

भण्डारी प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नं.– १ बाट एमाले सचिव प्रदीप ज्ञवालीसँग पराजित भएका हुन्। 

कार्यक्रममा बोल्दै अर्का नेता पृथबहादुर फौजदारले कांग्रेसको हारबाट कति पनि विचलिन नहुन कार्यकर्तालाई आग्रह गरे। उनी गुल्मी क्षेत्र नं.– १ ‘क’बाट प्रदेशसभाका पराजित उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.