|

झापा (भद्रपुर) : झापाको बिर्तामोडमा ३ सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल बन्ने भएको छ। साढे २ अर्ब रुपैयाँ लागतमा बीएण्डसी हस्पिटल बिर्तामोडले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागेको हो।

नेपालमा नै पहिलो पटक अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बुधवार एक संक्षिप्त कार्यक्रमबीच शिलान्यास गरियो। पूर्वका क्यान्सर रोगीलाई उपचारका लागि चितवन, काठमाडौं अथवा भारतसहित अन्य देश धाउनु पर्ने बाध्यता हटाउने उद्देश्यले झापामै क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए। उनका अनुसार बीएण्डसीमा क्यान्सर रोगका विशेषज्ञ डाक्टर भएकाले छुटै क्यान्सर अस्पताल सञ्चालनमा ल्याएर एकद्वार प्रणालीबाट बिरामीलाई उपचार दिन खोजिएको हो। 

नेपालमा क्यान्सरका रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएकोले उनीहरुको उपचारलाई ध्यानमा राख्दै अबको ६ महिनाभित्र यसै हस्पिटलले क्यान्सर रोगको उपचार सुरु गर्ने क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादवले जानकारी दिए।

७० देखि ८० प्रतिशत क्यान्सरका रोगीहरुलाई रेडिएसनको आवश्यकता पर्ने भएकाले सोही रेडिएसन अनुसारको अत्याधुनिक उपकरण जडान गरी उपचार प्रदान गरिने डा. यादवले बताए। नेपालको काठमाडौंमा दुईवटा हस्पिटलमा यसप्रकारको उपचार भए पनि उपत्याकबाहिर पहिलो पटक यस्तो सुविधा बिरामीले पाउने उनले बताए।

६ महिनाभित्र निर्माण कार्य सम्पन्न भएपश्चात सबै प्रकारका क्यान्सर रोगको उपचार यसै हस्पिटलले अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सकको टोलीले गर्ने हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए। १५ कठ्ठा जग्गामा निर्माण सुरु हस्पिटलले पूर्वका सम्पूर्ण जिल्लाका साथै भारतदेखिका बिरामीहरुलाई राहत मिल्ने हस्पिटलले विश्वास लिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.