विचार

'फेमिनिज्म' र महिला अधिकार
SHARES

मंसिर २९, २०७४

    आजभन्दा करिब १८६ वर्ष अगाडि स्थापना भएको 'मेरियम-वेव्स्टर कम्पनी'ले प्रकाशन गर्ने अनलाइन डिक्सनरी 'मेरियम-वेव्स्टर'ले 'फेमिनिज्म'लाई सन् २०१७ को 'विशेष शब्द' अर्थात 'वर्ड अफ दि इयर' छानेछ। त्यसरी छानिन, छानिने शब्द पूरै वर्षभरि नै धेरै पटक प्रयोग भएको हुनुपर्नेछ। एसोसिएट प्रेसले डिसेम्बर १३ मा सार्वजनिक गरेको समाचारअनुसार,  'मेरियम-वेव्स्टर' कम्पनीले मानिसहरूले 'फेमिनिज्म' शब्दबारे जानकारी लिन मेरियम-वेव्स्टरको अनलाइन डिक्सनरी सन् २०१६ भन्दा ७० प्रतिशत बढी पटक प्रयोग गरेका रहेछन् र त्यसैको आधारमा उक्त शब्दलाई 'वर्ष शब्द' चयन  गरिएको रहेछ। 

    प्रसंग पनि यही नै हो; केही वर्षयता, 'महिला अधिकार', 'महिलावाद' या जे जस्तो नाम दिए पनि यी शब्दहरू मात्रै व्यापक रूपमा प्रयोगमा आएका होइनन्, महिलाहरू पनि विगतका वर्षहरूभन्दा धेरै सक्रिय भएर अगाडि आइरहेका छन्।

    यो सक्रियता कुनै देशविशेष या व्यक्ति र समूह विशेषमा मात्रै होइन, विश्वव्यापी रूपमै आइरहेछ। केही दिन अगाडि चुनावबारे समाचार लेख्दा केही नेपाली पत्रकारहरूले महिलाहरूको अस्तित्व र पहिचानलाई पैतालामुनि हालेर उही पुरुषवादी सोचबाट समाचार लेख्नुभयो; त्यसको विरोधमा महिला अधिकारवादीको रूपमा परिचित महिलाहरू मात्रै होइन, थुप्रै पुरुषहरूले समेत विरोध जनाउनुभयो। यसको कारण सामाजिक सञ्जाल जस्तो राम्रा/नराम्रा कुराहरूको प्रतिकार तत्काल गर्ने माध्यम सर्वसुलभ हुनु पनि हो। जे होस्, अब महिलाहरू पहिलेजस्तो चुप बसिरहेका छैनन्; आफ्नो वर्ग र समुदायको हितका लागि जुर्मुराउन थालेका छन्।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूमा मनाइने 'महिलाविरुद्धको हिंसा घटाउने/हटाउने अभियान'मा यस वर्षको डिसेम्बर १० मा नेपालको राष्ट्रिय महिला आयोगले विशेष हेल्पलाइन, 'खबर गरौँ ११४५' को शुभारम्भ गर्‍यो। त्यस अवसरमा बोल्दै नेपालको महिला विकासमा पाँच दशक व्यतीत गर्नुभएकी अभियन्ता चाँदनी जोशीले धेरै वर्ष अगाडि सार्क सम्मेलनमा 'भ्वाइलेन्स अगेन्स्ट विमेन कर्टेन रेजर'को कार्यक्रम गर्दा सबै पत्रकारले सोधेको प्रश्न एउटै थियो, त्यो के भने, 'भ्वाइलेन्स अगेन्स्ट विमेन (महिलाविरुद्धको हिंसा) भनेको के हो? रेप (बलात्कार) हो? भनेर सोधेका थिए। अहिले हामी यहाँसम्म आइपुगेका छौँ।' भन्नुभएको थियो।

    हुन पनि, हामीले काम सुरु गर्दाको समयसम्म पनि महिलाका बारेमा कलम चलाउनु वा आवाज उठाउनु भनेको फलामको चिउरा चपाउनुसरह थियो। त्यो केवल पुरुषविरुद्धको आवाज भन्ने मात्र बुझाइ थियो। अहिले पनि त्यो सोचमा त्यति ठूलो परिवर्तन त आइसकेको छैन तर महिलाहरू उजुर गर्न सक्ने; गुनासो सुनाउन सक्ने र आफ्नो बारेमा आफैँ आवाज उठाउन हिम्मत गर्न सक्ने भएका छन्। 

    त्यसको अर्को राम्रो उदाहरण, केही समय अगाडि 'रातोपाटी डट कम'मा 'महिला हिंसा प्रतिवादका लागि आत्मसुरक्षा तालिम' शीर्षकमा पत्रकार आस्था केसीले 'महिला सशक्तीकरण नेपाल'का अध्यक्ष रश्मिला प्रजापतिसँग गरेको कुराकानी पनि हो। त्यसमा, रश्मिलाले भन्नुभएको भनेर काठमाडौं महानगरपालिकामा दुई पटक मेयर भइसकेका व्यक्तिले आफूमाथि गर्न खोजेको मानसिक हिंसाको व्यवहारलाई यसरी  परिभाषित गरिएको छ, 'उनले भनेजस्तो गर्न नमानेकै कारण मलाई जागिरबाट हटाइएको हो भन्नेमा म स्पष्ट थिएँ। आफू योग्य हुँदाहुँदै र इमान्दारीपूर्वक काम गर्दगर्दै विना कसुर छ वर्ष काम गरेको जागिरबाट निकालिनुपर्‍यो, कारण म एउटी महिला हुँ र मैले मेरो हाकिमले चाहेजस्तो शनिबार उनीसँग कतै घुम्न जान मानिनँ। मेरै समकक्षी पुरुष साथीहरू बढुवा भइरहँदा म भने कामबाटै निकालिनुपर्‍यो।' 

    अझै नेपालमा के कुरामा चेत आएको छैन भने 'महिला अधिकार वा महिला हक/हितको कुरा' भनेको महिलाहरूले आत्मसम्मानका साथ 'मानव'को रूपमा बाँच्नका लागि आवाज उठाएका हुन्; यो कुरालाई समाजका प्रत्येक व्यक्ति र वर्गले मनको भित्री कुनोबाट नै आत्मसात् गरिदिऊन् भनेर सचेत गराएका हुन्। 

    केही समय अगाडिसम्म राजनीतिक या अन्य क्षेत्रमा स्थापित भइसकेको व्यक्तिविरुद्ध यस्ता कुराहरू बोल्दा वा लेख्दा समाजले महिलालाई नै आरोप/प्रत्यारोप लगाएर चुप लगाउन खोज्थ्यो वा अझै मानहानि र अपमानित हुने व्यवहार गर्न उद्दत हुन्थ्यो तर आज त्यही समाजका सदस्यहरू प्रमाण पूरा गरेर अदालत नै जान नसके पनि खुलेआम आरोपित व्यक्तिको व्यवहारको बारेमा प्रश्न उठाउन थालेका छन्; यसको मतलव, आम जनमानसमा ती आरोपित व्यक्ति व्यवहारबाट सतर्क हुने सन्देश भए पनि पुर्‍याउन सफल भएका छन्। 

    त्यसबाहेक, महिलामाथि हुने हिंसाका घटनाहरू दर्ता वा रिपोर्टिङ हुन थालेका छन्; त्यसको मतलव, आम जनमानस सचेत भएको नै मान्नुपर्छ।

    केही दिन अगाडि महिला खबरमा प्रकाशित खेमा बस्नेतको लेखअनुसार नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक यस्तो थियो:  'आ. व. २०७२/०७३ मा एक हजार ८९ वटा बलात्कारका घटना भएका थिए। बलात्कृत हुनेमा ११ देखि १६ वर्षका किशोरी बढी छन्। आ. व. २०७२/०७३ मा मात्रै ११ देखि १६ वर्षका ३५० अर्थात ३२ प्रतिशत किशोरी बलात्कृत भएका थिए। त्यसैगरी १० वर्षमुनिका २१३ (१९ दशमलब ५५ प्रतिशत), १७ देखि १८ वर्षसम्मका ११८ (१० दशमलब ८३ प्रतिशत), १९ देखि २५ वर्षका १५१ (१३ दशमलब ८६ प्रतिशत), २६ देखि ३५ वर्षका १३१ (१२ प्रतिशत), ३६ देखि ४५ वर्षका (६ दशमलब ३३ प्रतिशत) र ४६ देखिमाथि ५७ अर्थात् ५ दशमलब २३ प्रतिशत महिला बलात्कृत भएको तथ्यांकले देखाएको छ।

    आर्थिक वर्ष २०७३/०७४ मा ४४४ अर्थात् ३९ प्रतिशत किशोरी बलात्कृत भए। १० वर्षमुनिका २११ (१८ दशमलब ५४ प्रतिशत), १७ देखि १८ वर्षसम्मका ८८ (७ दशमलब ७३ प्रतिशत),१९ देखि २५ वर्षका १६५ (१४ दशमलब ४९ प्रतिशत), २६ देखि ३५ वर्षका ९९ (८ दशमलब ६९ प्रतिश), ३६ देखि ४५ वर्षका ४९ (४ दशमलब ३० प्रतिशत) र ४६ देखिमाथि ५७ अर्थात् ३७ (३ दशमलब २५ प्रतिशत) महिला बलात्कृत भएका छन्।'

    हुनत कतिपय घटनाहरू भित्रभित्रै सामसुम पारिन्छन्, नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार नेपालका ६६ प्रतिशत महिलाहरूले कुनै न कुनै रूपमा शारीरिक र यौनिक हिंसा भोगेको पाइएको छ। सर्वेक्षणअनुसार ३४ प्रतिशत महिलाले आफ्नो श्रीमानद्वारा शारीरिक तथा यौनिक हिंसा र चोट भोगेका हुन्छन्।

    त्यसमध्ये १५ देखि ४९ वर्षका २२ प्रतिशत महिललाहरूले १५ वर्षको उमेरदेखि शारीरिक हिंसा र सात प्रतिशतले यौनिक हिंसा भोगेको कुरा पनि सोही सर्वेक्षणले सार्वजनिक गरेको छ।

    संयुक्त राष्ट्रसंघ तथ्यांक विभाग (यूएनएसडी)को २०१५ को रिपोर्टअनुसार नेपालमा अझै पनि ५० प्रतिशत महिला तथा पुरुषहरू श्रीमानले श्रीमती कुट्ने कुरालाई जायज ठान्छन्। यस्तै, तथ्यांकहरूबाट पनि महिलामाथि हुने मानसिक, शारीरिक तथा यौनिक हिंसाको कुरामा हाम्रो सोच कहाँनिर छ भन्ने छर्लङ्ग  हुन्छ।

    तर अझै नेपालमा के कुरामा चेत आएको छैन भने 'महिला अधिकार वा महिला हक/हितको कुरा' भनेको महिलाहरूले आत्मसम्मानका साथ 'मानव'को रूपमा बाँच्नका लागि आवाज उठाएका हुन्; यो कुरालाई समाजका प्रत्येक व्यक्ति र वर्गले मनको भित्री कुनोबाट नै आत्मसात् गरिदिऊन् भनेर सचेत गराएका हुन्। यो केवल डलरवादी र समाज वा घर भाँड्न उठाएका कुरा होइनन्।

    मेरियम-वेव्सटर डिक्सनरीमा 'महिलावाद' शब्द 'वर्ष शब्द' हुनुका पछाडि माथि उल्लेखित सन्दर्भ र तथ्यहरूले हाम्रो समाज र देशलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपले कतै न कतै जोडेको छ; यसलाई जति धेरैले आत्मसात गर्नसके, उति नै भविष्यका पुस्तालाई फाइदा पुग्ला कि!

    अन्त्यमा, ‘अधिकारका कुरा गरेपछि माया हराउँछ; घर बिग्रन्छ!’ भन्ने सोच लिएर होइन, एकअर्काले, अर्को व्यक्तिलाई दिने सम्मान, मानवताको पहिचान, समान सहभागिता, न्यायले नै समाजलाई आधुनिकतातर्फ डोर्‍याउँछ र राष्ट्र समुन्नत हुन्छ भन्नेतर्फ बढ्ने हो कि!

अमृता लम्साल

स्वतन्त्र पत्रकार लम्साल इह्रिकोनको अध्यक्ष हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]