११९ जनाको जमानत जफत, ५ दशमलव ६२ प्रतिशत मत बदर

|

  • अर्जुन सुवेदी-

सुनसरीः सुनसरीमा समानुपातिकतर्फ जारी मत गणना भोलि शनिबार मात्रै सकिने भएको छ। शुक्रबार साँझसम्मको पछिल्लो परिणामअनुसार यस जिल्लामा नेकपा एमाले अगाडि रहेको छ। एमालेले सुनसरीमा सुरुवाती अवस्थादेखि नै अग्रता कायम गर्दै आएको छ। 

जिल्ला निर्वाचन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरणअनुसार नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ८८ हजार ८०५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ७७ हजार ९२५ मत पाउँदा माओवादी केन्द्रले १५ हजार ९२२ समानुपातिक मत ल्याएको छ। 

त्यसैगरी संघीय समाजवादी फोरम नेपालले १२ हजार ७० मत ल्याउँदा विवेकशील साझा पार्टीले चार हजार ३७६, राजपाले चार हजार २००, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले दुई हजार १५४, राप्रपाले दुई हजार ९६, राप्रपा प्रजातान्त्रिकले एक हजार ५८० र नयाँ शक्ति पार्टी नेपालले एक हजार १५६ मत ल्याएको छ। 

प्रदेशसभा सदस्य निर्वाचनतर्फको समानुपातिकको मतमा समेत एमाले नै अगाडि छ। एमालेले शुक्रबार साँझसम्म ८२ हजार ५०६, नेपाली कांग्रेसले ७० हजार ५९२, माओवादी केन्द्रले १६ हजार ७६३,  संघीय समाजवादी फोरमले १२ हजार ६२२ विवेकशीलले तीन हजार ८७५ मत पाएको छ। 

समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेकाले भोलि शनिबारसम्ममा सबै परिणाम सार्वजनिक हुने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए।

११९ जनाको जमानत जफत
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरीबाट उम्मेदवार बनेका ११९ जनाको जमानत जफत भएको छ। सुनसरीमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ कुल १४६ जना उम्मेदवारमध्ये ११९ जनाले जमानत गुमाएका हुन्। 

सुनसरीमा चारवटा निर्वाचन क्षेत्र रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ ५३ जना उम्मेदवार रहेकामा पहिलो र दोस्रो हुनेबाहेक अन्य सबैको जमानत जफत भएको छ। 

त्यसैगरी आठ प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका ९३ जना मध्ये १९ जनाले मात्र जमानत जोगाएका छन्। प्रदेशसभातर्फ ७४ जनाले जमानत जोगाउन सकेनन्। सुनसरीमा जमानत गुमाएकाहरूबाट राज्य कोषमा आठ लाख रुपैयाँ जम्मा भएको छ। 

५ दशमलव ६२ प्रतिशत मत बदर
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनतर्फ सुनसरीमा ५ दशमलव ६२ प्रतिशत मत बदर भएको छ। मंसिर २१ गते सम्पन्न निर्वाचनमा सुनसरीमा ६९ दशमलव ३१ प्रतिशत मत खसेको थियो। चार लाख ७४ हजार ८३१ मतदाता रहेको सुनसरीमा तीन लाख २९ हजार ९७ जनाले मतदान गरेका थिए। 

खसेको कुल मतमध्ये सुनसरीमा तीन लाख १० हजार ६१४ अर्थात् ९४ दशमलव ३८ प्रतिशत मत सदर थियो। सुनसरीको कुल बदर मत १८ हजार ४८३ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। 

सुनसरीमा प्रतिनिधिसभातर्फ छ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ ५ दशमलब २३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए। प्रतिनिधिसभातर्फ सबैभन्दा बढी सुनसरीको निर्वाचन क्षेत्र नम्बर– ४ मा ९ दशमलब ३७ प्रतिशत मत बदर भएको छ। सबैभन्दा कम मत बदर सुनसरी क्षेत्र नम्बर– ३ मा भएको छ। क्षेत्र नम्बर– ३ मा ४ दशमलव ३० प्रतिशत मत बदर भएको छ। 

कुल खसेको सदर मतको १० प्रतिशत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान संविधानमा रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.