|

बाँके :  अत्यधिक चिसो बढेपछि यसको प्रत्यक्ष मारमा बाँकेका बाढीपीडित परेका छन्। अस्थायी टहराले शित छेक्न नसकेपछि सामुदायिक बनमा अस्थायी टहरा बनाएर बसेका बाढीपीडितका बालबालिका र बृद्धबृद्धामा निमोनिया, रुघाखोकी, ज्वरो, टाइफाइड जस्ता समस्या देखिएका छन्।

बाढीले घरबार उठाएपछि सामुदायिक बनमा बनाएको अस्थायी टहरामा बसेका अधिकांश बाढीपीडितका बालबालिका, बृद्धबृद्धा विरामी भएनको राप्ती–सोनारी गाउँपालिका–१, टिकुलीपुरकी मञ्ज विकले बताइन्। उनले शित र चिसोले बालबच्चालाई जोगाउन समस्या भएको बताइन्। ‘दिउँसो जसोतसो बसे पनि रात कटाउन मुश्किल परेको छ, शित चुहिएर सुत्न नसकिने भो,’ उनले भनिन्।

बाढीपीडित बसेको ठाउँका अधिकांश बालबालिका र बृद्धबृद्धा चिसाका कारण विरामी भएका छन्। छोरीलाई निमोनिया भएपछि एक हप्ता भेरी अंचल अस्पतालमा उपचार गराएको टिकुलीपुरकी दीपा विकले बताइन्। उनले मंसिर महिना लागेदेखि बालबच्चालाई खोकी लाग्ने, ज्वरो आउने, निमोनिया भएर स्याँस्याँ हुने समस्या देखिएको बताइन्। ‘चिसोले बालबच्चा र वृद्धवृद्धालाई जोगाउनै मुश्किल भएको छ, एकपछि अर्को विरामी हुँदा हैरान भइसक्यौं,’ उनले भनिन्।

बालबालिकाको उपचारमा रकम अभाव

मंसिर महिना लागेदेखि मञ्जुकी २ वर्षीया छोरी श्रीषालाई पनि रुघाखोकीले छोडेको छैन। मंसिरमा मात्र उनले छोरीलाई उपचारका लागि ६ पटक महादेवपुरीको जिरो र एक पटक कोहलपुरमा पुर्‍याइन्। बाढीले सबै बगाएपछि सामुदायिक बनमा अस्थायी टहरा बनाएर बसेकी मञ्जुले उपचार गराउन आर्थिक समस्या झेल्दै आएकी छन्। ‘एक दुई रुपैयाँ जम्मा गर्‍यो उपचारमा खर्च भइहाल्छ, उपचार गराउने रकम नहुँदा धेरै पटक गाउँमै धामी, वैद्यसँग उपचार गराउँछु,’ उनले भनिन्।

चिसोले त्रिपालको घरमा रात विताउन कठिन भएको सोही ठाउँकी कमला विकले बताइन्। उनीसँगै टिकुलीपुरका १०३ परिवार बाढीपीडित सामुदायिक बनमा बस्दै आएका छन्। उनले चिसाले विरामी भएकाहरुको उपचारमा समस्या भएको बताइन्। उनले २०–४० बर्ष उमेर समूहका युवायुवती समेत चिसोबाट प्रभावित भएको बताइन्। ‘परिवारका अधिकांश सदस्य विरामी परेपछि उपचारमा समेत समस्या भएको छ,’ उनले भनिन्।

चिसोल वृद्धवृद्धाको शरीर सुन्निने, स्वास प्रश्वासमा समस्या हुने र खोकी लाग्ने समस्या देखिएको छ। चिसोले आमाको शरीर सुन्निएको टिकुलीपुरका गणेश खत्रीले बताए। उनले अस्थायी टहरामा शित चुहिने भएकोले वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको बताए। ‘ह्वातै चिसो बढेसँगै आमाको शरीर सुनिदै गयो, निको नभएपछि अस्पताल भर्ना गरेर उपचार गरायौं,’ उनले भने ।

चिसोले विद्यालय जाने उमेर समूहका बालबालिका विरामी भएपछि विद्यालय जान नसकेको राप्ती–सोनारी गाउँपालिका–४, सेम्रहानाकी बाढीपीडित भीमा परियारले बताइन्। राप्ती–सोनारी गाउँपालिका–६ र ७ स्थित सामुदायिक बनमा बसेका बाढीपीडित बालबालिका र बृद्धबृद्धा पनि चिसोले प्रभावित भएको वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारुले बताए। उनले अस्थायी टहरा बनाएर बसेका बाढीपीडितका अधिकांश बालबालिका र बृद्धबृद्धालाई निमोनिया, रुघाखोकी, ज्वरो आउने, शरिर सुनिने समस्या देखिएको बताए।

निशुल्क उपचारको माग

चिसोले बाढीपीडित क्षेत्रका बालबालिका र बृद्धबृद्धा धमाधम विरामी पर्न थालेपछि त्यस ठाउँका सर्वसाधारणले उपचारको माग गरेका छन्। विरामी परेका जानकारी पाएपछि नाम लेख्न र सोधीखोजी गर्न २–३ वटा टोली शिविरमा पुगे पनि अहिलेसम्म कसैले उपचारमा सहयोग नगरेको टिकुलीपुरकी मञ्जु विकले बताइन्।

उनले बाढीपीडितका बालबालिका र बृद्धबृद्धाका निशुल्क उपचार गर्न र समय–समयमा स्वास्थ्य शिविर संचालन गर्न माग गरिन्। ‘उपचार गराएर थाकिसक्यौं, शिविरमा स्वास्थ्य शिविर भए पनि सञ्चालन गरिदिनुपर्‍यो,’ उनले भनिन्। उनले सम्बन्धित निकायले समयमा ध्यान नदिए शिविरमा ठूलो समस्या निम्तिने खतरा औंल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.